मंगलवार, फाल्गुण ४ २०७७
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयमा ‘जङ्क फुड’ खुवाउन निषेध गरेको छ । प्याकेजिङ गरिएका तयारी खानाले विद्यार्थीहरुको स्वास्थ्यलाई असर पुर्याउने भन्दै सरकारले यस्तो निर्णय गरेको हो ।
केन्द्रले स्थानीयस्तरमा उत्पादन हुने खानेकुरालाई नै प्राथमिकतामा राख्नुपर्ने भन्दै विभिन्न ६० प्रकारका ‘मेनु’ समेत तयार गरेर पुस्तिका सार्वजनिक गरेको हो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले सोमबार सार्वजनिक गरेको ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’ मा सामुदायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवाखाजामा ‘जङ्क फुड’ खुवाउन निषेध गरिएको छ ।
सरकारले विद्यार्थीलाई दिवाखाजाका लागि रु सात अर्ब ७२ करोड ९३ लाख ३० हजार विद्यालयमा पठाइसकेको कार्यक्रममा जानकारी दिएको छ ।
हाल देशभरिका २९ लाख ४० हजार ७८९ विद्यार्थीलाई विद्यालयमा दैनिक खाजा निःशुल्क उपलब्ध गराउदै आएकोछ । यसकालागी सरकारले कर्णालीमा प्रतिविद्यार्थीलाई दैनिक रु २० र अन्य क्षेत्रमा विद्यार्थीलाई रु १५ का दरले दिवाखाजाको रकम उपलब्ध गराउने निर्णय गरेको हो ।