शुक्रवार, भाद्र १४ २०८१
भदौ, १४ गते काठमाडौ । कुलेश्वर आवास माद्यामिक विद्यालयले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुको स्वागत र कक्षा १२ मा उत्तीर्ण भई उच्च- शिक्षा पढाइको लागि जानुहुने विद्यार्थीहरुलाई बिदाई कार्यक्रम आयोजना गरेको छ। शुक्रबार एक भव्य कार्यक्रमका बिच स्वागत तथा बिदाइ कार्यक्रम गरेको हो। कार्यक्रम औपचारिक र अनौपचारिक दुई सत्रमा सम्पन्न भएको थियो।

स्वागत तथा बिदाई कार्यक्रममा कुलेश्वर आवास माविका प्राचार्य मेघराज दुलालको सभापतित्व तथा काठमाडौ महानगरपालिका वडा १४ का अध्यक्ष सुमन श्रेष्ठ प्रमुख अतिथि रहनुभयो। साथै काठमाडौ जिल्ला समन्वय इकाइ प्रमुख तथा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बिचारी प्रसाद अधिकारी, कुलेश्वर आवास क्याम्पसका ब्यबस्थापन समितिका अध्यक्ष भेषराज दाहाल, कुलेश्वर आवास माविका कोर्डिनेटर प्रकाश भण्डारी, बिद्यालय ब्यबस्थापन समिती सदस्य राजु दाहाल लगाएत बिभागिय प्रमुख र शिक्षक कर्मचारीहरुको उपस्थिती रहेको थियो।

कार्यक्रममा स्कुल कोर्डिनेटर तथा कुलेश्वर आवास क्याम्पसका सहायक प्रमुख प्रकाश भण्डारीले स्वागत मन्तव्य दिनुभयो। उहाँले आजको विद्यार्थीहरु भोलिको देश निर्माण गर्ने जनशक्ति भएकोले कुलेश्वर आवासमा अध्ययन गर्न आउनुभएका विद्यार्थी भाइबहिनीहरुलाई त्यो हैसियतमा पुर्याउन स्कुलले मिहेनत गर्ने बताउनुभयो।

कार्यक्रममा प्रमुख प्रमुख अतिथि काठमाडौ महानगरपालिका वडा १४ का अध्यक्ष सुमन श्रेष्ठले सामुदायिक स्तरमा रहेको बिद्यालयको कक्षा १० र १२ को अन्तिम नतिजा अत्यन्तै राम्रो आएको भन्दै बिद्यालयको उत्कृष्ट कार्यको प्रशंसा गर्नुभयो। साथै विद्यार्थीहरुलाई अनुशासित र जिम्मेवार ढंगले पढ्न सुझाव दिनुभयो।

कक्षा १२ का विद्यार्थीहरुको बिदाइ होइन बरु विश्वविद्यालय शिक्षाको सुरुवात हो भन्दै प्रतिस्पर्धाको युगमा आफुलाई अब्बल राख्न विद्यार्थीहरुले धेरै मिहेनत गर्नुपर्ने धारणा ब्यक्त गर्नुभयो। साथै कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई अरुको दवाब, लहड र करकापमा नभई आफ्नो रुचि अनुरुप पढ्ने बिषय छान्ने र त्यस अनुरुप पढ्नुपर्ने धारणा ब्यक्त गर्नुभयो।

शिक्षा बिकास तथा समन्वय एकाइ प्रमुख तथा बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष बिचारी प्रसाद अधिकारीले बिद्यालयले प्रतेक बर्ष अत्यन्तै उत्कृष्ट नतिजा दिइरहेको भन्दै यसलाइ अझ ब्यबस्थित र शिक्षण सिकाइ क्रियाकलापलाई अझै सकृय बनाउने धारणा ब्यक्त गर्नुभयो। उहाँले कक्षा १२ उत्तीर्ण भएर जाने विद्यार्थीहरुलाई बधाइ तथा आगामी जिवनको शुभकामना ब्यक्त गर्नुभयो। साथै नयाँ आउने विद्यार्थीहरुलाई बिद्यालयले दिने सेवा सुविधाहरुको प्रयोग गर्दै मिहेनत गर्नुपर्ने बताउनुभयो।

त्यसैगरी कार्यक्रममा स्कुल प्रिन्सिपल तथा क्याम्पस प्रमुख मेघराज दुलालले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्नुभयो। त्यस्तै कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरुलाई उच्च- शिक्षा अध्यायनको शुभकामना दिदै औपचारिक कार्यक्रमको समापन गर्नुभयो।

उक्त कार्यक्रममा कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई टोकन अफ लभ र बिद्यालय डायरी दिएर सम्मान समेत गरिएको थियो। कार्यक्रम बिद्यालयका शिक्षक पृथ्वी मगरले संचालन गर्नुभयो ।


उक्त कार्यक्रमको अनौपचारिक सत्रमा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक नृत्य तथा गायन मार्फत आफूसंग भएका प्रतिभाहरु प्रस्फुटन गर्दै मनोरञ्जन गरेका थिए।










