मंगलवार, मंसिर ११ २०८१
मंसिर,११ गते काठमाडौ । उच्चस्तरीय दरबन्दी पुनरावलोकन कार्यदलले शिक्षक दरबन्दी पुनरावलोकनको काम शुरु गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको उपस्थितिमा कार्यदलको बैठक बसी कार्यदल र कार्यसर्तका सम्बन्धमा छलफल भएको हो ।
छलफलमा मन्त्री भट्टराईले २०७५ सालको कार्यदलको प्रतिवेदनलाई मुख्य आधार मानी जनसङ्ख्या, विद्यालय स्तरीय शैक्षिक तथ्याङ्क, विगतको शिक्षक विद्यार्थी अनुपात तथा भौगोलिक अवस्था आदिलाई ध्यान दिई वैज्ञानिक आधारमा प्रतिवेदन तयार गर्नुपर्ने धारणा व्यक्त गरिन्।
अब प्रतिवेदन तयार गर्दा जनसङ्ख्या तथा बसाइँसराइको अवस्थालाई ध्यान दिँदै शिक्षाका सरोकारवालाहरू खासगरी विव्यस, गाउँपालिका/नगरपालिका महासङ्घका साथै स्थानीय तहका पदाधिकारीहरूसँग समेतको राय लिएर अगाडी बढ्दा ठीक हुने उनको भनाइ छ।
उक्त छलफलमा शिक्षा सचिव, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष तथा २०७५ सालको शिक्षक दरबन्दी मिलान समितिका संयोजकले आ–आफ्नो सुझाव तथा विचार राखेको मन्त्रालयले जनाएको छ ।