शुक्रवार, आश्विन १६ २०८३
सिन्धुली । दुधौली नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको तलब–भत्ता मासिक रूपमा सिधै बैंक खातामा पठाउन थालेको छ। इलेक्ट्रोनिक फन्ड ट्रान्सफर (EFT) प्रणालीमार्फत नगरपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ को सुरुवातदेखि यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो।
सशर्त कार्यक्रम कार्यान्वयन कार्यविधि, आर्थिक वर्ष २०८३/८४ ले स्थानीय तहलाई IEMIS मार्फत मासिक रूपमा माग फाराम संकलन गरी नियमानुसार शिक्षकको बैंक खातामा तलब पठाउन सक्ने व्यवस्था गरेपछि दुधौली नगरपालिकाले सोही आधारमा मासिक भुक्तानी सुरु गरेको जनाएको छ।
नगरपालिकाका अनुसार यो व्यवस्था कार्यान्वयन गर्ने दुधौली सिन्धुली जिल्लाकै पहिलो स्थानीय तह बनेको छ। देशभरका ७५३ स्थानीय तहमध्ये पनि सीमित पालिकाले मात्र शिक्षक–कर्मचारीको तलब मासिक रूपमा सिधै बैंक खातामा पठाउने अभ्यास सुरु गरेका छन्।
दुधौली नगरपालिकाका सामुदायिक विद्यालयमा कार्यरत ६६५ जना शिक्षक तथा कर्मचारीले यस्तो सुविधा पाएका छन्। नगरपालिकाले २०८३ साउन, भदौ र असोजको तलब तथा चाडपर्व खर्चसमेत सम्बन्धित शिक्षक तथा कर्मचारीको बैंक खातामा पठाइसकेको जनाएको छ।
त्यस्तै, स्थायी प्रकृतिका शिक्षकहरूको कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायतका रकमसमेत मासिक रूपमा समयमै जम्मा गर्न थालिएको नगरपालिकाले जनाएको छ।
यसअघि संघ, प्रदेश र स्थानीय तहका अन्य कार्यालयमा कार्यरत कर्मचारीले मासिक रूपमा तलब पाउँदै आए पनि सामुदायिक विद्यालयका शिक्षकहरूले कतिपय अवस्थामा त्रैमासिक रूपमा मात्र तलब पाउने अवस्था थियो। मासिक तलब भुक्तानीमार्फत यस्तो असमानता र गुनासो सम्बोधन गर्ने उद्देश्यले नयाँ व्यवस्था लागू गरिएको नगरपालिकाले जनाएको छ।
दुधौली नगरपालिकाका वरिष्ठ विद्यालय निरीक्षक तथा शिक्षा शाखा प्रमुख हरिलाल विश्वकर्माका अनुसार मासिक रूपमा सिधै बैंक खातामा तलब पठाउने व्यवस्थाले शिक्षक तथा कर्मचारी उत्साहित भएका छन्। यसले लेखा प्रणालीलाई सरल र एकरूप बनाउन तथा विद्यालयको प्रशासनिक र वित्तीय कार्यबोझ घटाउनसमेत सहयोग पुगेको उहाँले बताउनुभयो।
नगरपालिकाका अनुसार शिक्षक–कर्मचारीको नियमित मासिक आम्दानीले स्थानीय बजारमा नगद प्रवाह बढाउन र आर्थिक गतिविधि चलायमान बनाउनसमेत योगदान पुग्ने अपेक्षा गरिएको छ।