शुक्रवार, आश्विन १६ २०८३
काठमाडौँ — माध्यमिक तह अर्थात् कक्षा १० सम्मको पाठ्यक्रममा स्वास्थ्य शिक्षालाई अनिवार्य विषयका रूपमा समावेश गर्न सरोकारवालाहरूले जोड दिएका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा आयोजित सरोकारवालाहरूको छलफलमा मानव स्वास्थ्य जीवनको आधार भएकाले स्वास्थ्यसम्बन्धी अध्ययनलाई ऐच्छिक विषयमा सीमित गर्न नहुने धारणा व्यक्त गरिएको हो।
सहभागीहरूले स्वस्थ, सचेत र जिम्मेवार नागरिक निर्माणको आधार विद्यालय तहबाटै तयार गर्नुपर्ने बताएका छन्। विद्यालय तहदेखि नै विद्यार्थीलाई स्वास्थ्यसम्बन्धी आधारभूत ज्ञानसँगै व्यवहारिक तथा जीवनोपयोगी सीप प्रदान गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन्।
व्यक्तिगत सरसफाइ, पोषण, प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य, रोगको रोकथाम तथा स्वस्थ जीवनशैलीजस्ता विषयलाई पाठ्यक्रममा प्रभावकारी रूपमा समेट्नुपर्ने सहभागीहरूको भनाइ थियो।
स्वास्थ्य शिक्षा केवल सैद्धान्तिक ज्ञानमा सीमित नभई विद्यार्थीको दैनिक व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने खालको हुनुपर्नेमा पनि छलफलमा जोड दिइएको थियो। स्वास्थ्यसम्बन्धी सही ज्ञान, व्यवहार र जीवनोपयोगी सीप विद्यालय तहदेखि नै विकास गर्न सके स्वस्थ र जिम्मेवार नागरिक निर्माणमा महत्वपूर्ण योगदान पुग्ने सहभागीहरूको धारणा थियो।
स्वास्थ्य शिक्षाले व्यक्ति मात्र नभई परिवार र समग्र समाजको स्वास्थ्य सुधारमा समेत महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसलाई विद्यालय शिक्षाको प्राथमिकतामा राख्नुपर्नेमा सहभागीहरू एकमत देखिएका थिए।
समग्र विकासको लक्ष्य हासिल गर्न विद्यालय शिक्षालाई बलियो आधारका रूपमा विकास गर्नुपर्ने र त्यसका लागि स्वास्थ्य शिक्षालाई अनिवार्य विषयका रूपमा स्थापित गर्न आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।