सोमवार, पौष २२ २०८१
काठमाडौ। शिक्षा सुधारको माग राख्दै माइतीघरमा ८ दिनदेखि उभिँदै आएका नेत्र चापागाईंले आन्दोलन स्थगित गरेका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले आन्दोलनरत चापागाईंलाई भेटेर माग पुरा गर्ने प्रतिवद्दता जनाएपछि उनले आन्दोलन स्थगित गरेका हुन्।
आन्दोलनरत चापागाईंलाई माइतीघरमा गएर भेटेपश्चात मन्त्री भट्टराइले शिक्षा क्षेत्र सुधारका लागि प्रक्रियामा प्रवेश गरिसकेकाले शंका नगर्न अनुरोध गरेकि थिइन्।
आर्थिक बर्ष २०८१/८२ बजेट तर्जुमा गर्दा अहिलेको सरकार नरहेका कारण सबै विषय सम्वोधन गर्न कठिन रहेको छ तथापि अहिले विपदबाट क्षति भएका विद्यालयहरूको पुनर्निर्माणका गर्न आवश्यक रकम व्यवस्थापनका लागि अर्थ मन्त्रालय पेश भइसकेको बताईन्। त्यसैगरी संस्थागत विद्यालयमा सरकारले तोकेबमोजिम छात्रवृति दिनका लागि अनिवार्य गराइएको, स्थानीय तहहरूलाई शिक्षा कोष स्थापना गर्न उत्प्रेरित गराईने, शिक्षकको उपचारमा छुटको लागि स्वास्थ्य मन्त्रालयमा अनुरोध गरिसकिएको उनको भनाइ थियो।
शिक्षामा अहिले देखिएका समस्याहरूको सुधार र यसबाट परिणाम आउन दिनका लागि सबैको साथ सहयोग आवश्यक रहेको कुरामा शिक्षा मन्त्रीले जोड दिइन् ।
उक्त कार्यक्रममा सहभागी प्रतिनिधि सभाको शिक्षा, समितिका सभापति अमरबहादुर थापाले नेपालको शिक्षाको मोडेल सुधारका लागि समितिमा छलफलमा राखेको, अबको शिक्षाको मोडेल नेपालमै बसेर केही गर्न सक्ने खालको हुनुपर्ने भएकोले सोहि अनुसार शिक्षा ऐेन ल्याउन नागरिकको धारणा समेत लिन खोजेको कुरा बताए।
शैक्षिक क्षेत्र सुधारको मागसहित आन्दोलन सुरु गरेका चापागाईं सातै प्रदेशमा दुई–दुई घण्टा उभिएर काठमाडौं आएका थिए ।काठमाडौंमा उनी उभिन थालेको सोमबार आठौं दिन हो । खुट्टा सुन्निएपछि उनी बैशाखीको सहारामा उभिएर आन्दोलनलाई निरन्तरता दिएका थिए ।