आइतवार, माघ १३ २०८१
माघ, १३ गते/ काठमाडौ। माइलस्टोन युथ इङ्लिस स्कुलले बिज्ञान तथा गणित प्रदर्शनी आयोजना गरेको छ। शनिवार विद्यालयले आधारभुत तह देखी कक्षा १० सम्मका विद्यार्थीहरुले पढाई संगसंगै गरेका अन्य रचनात्मक क्रियाकलाप तथा कामहरुको प्रदर्शनी (exhibition) गरेको हो।

विद्यालय प्राङ्गणमा आयोजना गरिएको प्रदर्शनीमा कक्षा विद्यार्थीले तयार गरेका सिर्जनात्मक सामग्री प्रदर्शनीमा राखिएका थिए । विद्यार्थीले स्थानीय सामग्रीको प्रयोगबाट तयार गरेका हाइड्रोलिक डोजर, भ्याकुम क्लिनर, सोलर सिस्टम, रिफ्लेक्सन अफ लाइट, रकेट, म्याथ गेम, लगाएत विभिन्न सामाग्रीहरु राखेका थिए।

बिज्ञान तथा गणितलाई प्रयोगात्मक रूपमा अध्ययन अध्यापन गराउन सजिलो होस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । प्रदर्शनीमा हरेक कक्षाका विद्यार्थीहरूले आफ्ना परियोजनाहरू बारे व्याख्या पनि गरेका थिए।

विद्यार्थीले कक्षाकोठामा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यावहारिक रुपमा सिक्न बिज्ञान तथा गणित प्रदर्शनी आयोजना गरिएको प्रिन्सिपल शिवराम गिरीले बताउनुभयो। विद्यार्थीले सृजना गरेका सामग्रीले पनि नयाँ नयाँ आविष्कार गर्न सक्छन् भन्ने प्रमाणित प्रदर्शनीले गरेको प्रिन्सिपल गिरीको भनाई थियो ।

यस्तो प्रदर्शनीबाट अभिभावकहरुले आफ्नो बालाबालिकाहरु बिद्यालयमा गएर के के गर्छन भन्ने कुरा अवलोकन गर्दछन र आफ्नो छोराछोरीहरुको सिर्जना देखेर खुशी हुन्छन्। यस्ता प्रर्दशनीले उनिहरुको अन्तरनिहित क्षमताको पहिचान गर्ने मौका पाउने भएकोले अभिभावकहरुलाई समेत बोलाएर बृहत् रुपमा प्रदर्शनीको अवलोकन गर्ने गरेको प्रिन्सिपल गिरीले बताउनुभयो। साथै गणित तथा बिज्ञान प्रदर्शनी विद्यार्थीहरुको लागि Exposure को राम्रो माध्यम बन्ने बिश्वास ब्यक्तगर्नुभयो।

शिक्षण सिकाइमा नयाँ प्रविधिसँग प्रत्यक्ष साक्षात्कार गराई बालबालिकामा अन्तर्निहित सिर्जनशीलता जागृत गराउँदै भविष्यमा राष्ट्रका लागि आवश्यक जनशक्ति उत्पादन गराउनु प्रदर्शनीको उदेश्य रहेको छ।

प्रदर्शनीमा अभिभावकहरुको उल्लेख्य सहभागी गरेको थियो। उनिहरुले आफ्नो छोराछोरीले बनाएको विभिन्न शैक्षिक सामाग्री हेरेर दंग परेका थिए।
