शुक्रवार, माघ २५ २०८१
भक्तपुर, माघ २५ । नपली सृजनानगरस्थित सन्तती आधारभूत विद्यालयले स्थापनाको ३७ औं स्थापना दिवस भब्य रुपमा मनाएको छ। शुक्रवार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठको सभापतित्वमा स्थापना दिवस मनाएको हो।

विद्यालय स्थापना दिवसको अवसरमा अतिरिक्त क्रियाकलापहरुमा विजयी विद्यार्थीहरुलाई अतिथिहरुले पुरस्कार समेत वितरण गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिका वडा नं १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले सामुदायिक विद्यालयहरुको स्तरोन्नति गर्न आवश्यक भौतिक तथा शैक्षिक विकासका गर्न भक्तपुर नगरपालिका लागिपरेको बताउनुभयो । विद्यालयको विकासका लागि स्थानीय समुदायलाई पनि साथमा लिएर अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
विद्यालयका पूर्व प्रधानाध्यापक मधुमैया प्रधानले विद्यालयको विकासका लागि संस्थापक जानकीलाल प्रधानले गर्नुभएको योगदानबारे चर्चा गर्दै विद्यालयका लागि स्लेट सहयोग गर्नुभयो।

स्थानीय नपली सेवा समाजका उपाध्यक्ष शमशेर बहादुर न्हुछेले सामुदायिक विद्यालयको संचालनमा विविध कठिनाईहरु रहेको उल्लेख गर्दै समाजको तर्फबाट विद्यालयलाई सक्दो सहयोग गर्ने उल्लेख गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले सामुदायिक विद्यालयको प्रगतिको लागि स्थानीय समाज, विद्यालय व्यवस्थापन समिति तथा शिक्षकहरुको त्रिपक्षीय समन्वय हुनुपर्ने बताउँदै भक्तपुर नगरपालिकाले शैक्षिक क्षेत्रको विकासको लागि शैक्षिक ऋण र छात्रवृत्ति वितरण गरिरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दीपक माकले विद्यालयको गतिविधिहरुबारे जानकारी दिँदै विद्यालय संचालनका कठिनाईहरुबारे सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा विद्यालयको ३७ औं स्थापना दिवसको अवसरमा आयोजित विभिन्न अतिरिक्त क्रियाकलापहरुमा विजयी विद्यार्थीहरुलाई अतिथिहरुले पुरस्कार वितरण गरेका थिए ।