बोर्डको ढोका ठोकिन थालिसक्यो,
मनमा डर, आँखा झन झलमल —
किताब खुल्छ, तर मन थामिँदैन,
कलम समाउँदा पनि हात काँप्छ अहिले।
शिक्षक चुप छैनन् — उनीहरूका माग छन्,
तर सरकार कानमा तेल हालेर, कुर्सीमा मग्न छन्।
हामीलाई चाहिँ? न कुनै सहारा, न कुनै आश्वासन,
हाम्रो भविष्य यिनीहरूको खेल बनेको छ — नाटक, अनि प्रशासन।
शिक्षक भन्छन् — "माग पुरा गर!"
सरकार भन्छ — "पहिला हेरौं, अनि कुरा गर्ने !"
बिचमा हामी — कक्षा १२ का
न पढ्न पाएका, न सुत्न पाएका,
न केही बुझ्न पाएका ,
दिमागमा केवल आन्दोलन घन्किन्छ।
शिक्षक सडकमा, सरकार सिंहदरबारमा !
हामीचाहिँ बीचमा, अनुत्तरित प्रश्नहरूमा !
पढ्ने उमेरमा राजनीति बुझ्न बाध्य भयौं !
रातभरि किताब होइन, अब त समाचार पढ्छौं।
र शिक्षामन्त्री...?
ऊ त लाटो जस्तो हाँस्दै गयो !
"राजीनामा!" भन्दै,
जस्तो मन्त्रालय होइन, कक्षा हो !
जहाँ घर जाने बेलामा उठेर बिदा मागे जस्तो।
अहिले हामीसँग प्रश्न छन्, उत्तर छैन !
हाम्रो मानसिक स्वास्थ्यको जिम्मा कसले लिन्छ?
यो अनिश्चितता, यो डर, यो अन्योल !
हाम्रो नतिजा बिग्रियो भने, जिम्मेवार को हुन्छ?
कक्षा छैन, पाठ छैन, केवल डर छ !
"अब के होला?"
भविष्य झुण्डिएको छ माग र निर्णयको झोलामा !
जहाँ न शिक्षक झुक्छन्, न सरकार बुझ्छ।
अनि परीक्षा?
एउटै चोटी लिने भनिएको त्यो पनि सारियो,
मिति नजिकिँदैछ, तर अझै कुनै स्पष्टता छैन !
पोस्टपोन भएको परीक्षा हुने हो कि फेरि सर्छ?
यो अनिश्चयमा हाम्रो मन जलिरहेको छ !
किनकि तयारी गर्न मन लाग्दैन !
जब थाहा नै छैन, परीक्षा पक्कै हुने हो कि होइन।
अब भन्नुहोस् !
हामी विद्यार्थीहरूको यो अवस्था,
यो मनोवैज्ञानिक असर,
को जिम्मेवार?
सरकार?
शिक्षक?
कि आफै विद्यार्थीहरू?
सोमवार, बैशाख १५ २०८२०९:२९:०६