Aug 13 2026 | २०८३, श्रावण २८ गते

विद्यालयबाट चोरी भएका ल्यापटप डेढ वर्षपछि गाडिएको अवस्थामा भेटिए

विद्यालयबाट चोरी भएका ल्यापटप डेढ वर्षपछि गाडिएको अवस्थामा भेटिए

  • 904
    SHARES

  • विद्यालयबाट चोरी भएका ल्यापटप डेढ वर्षपछि गाडिएको अवस्थामा भेटिए

    वैशाख ३१ गते/ ताप्लेजुङ। जिल्लाको मैवाखोला गाउँपालिका–५ फाकुम्बास्थित पाटीडाँडा माध्यमिक विद्यालयको हराएको आठ वटा ल्यापटप कम्प्युटर बोरामा पोको पारेर गाडिएको अवस्थामा भेटिएको छन्। करिब डेढ वर्ष अर्थात १६ महिना अघि विद्यालयबाट हराएको अर्थात् चोरी भएको ल्यापटपहरु जङ्गलबिच ओडारमा गाडिएको अवस्थामा फेला परेको हुन्।

    मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार २०८० साल पुस २२ गते राति विद्यालयको ढोका फोरेर ११ वटा ल्यापटप चोरी भएका थिए। उक्त ल्यापटपहरु प्रहरी, विद्यालयका प्रधानाध्यापक र वडाध्यक्षसहितका टोलीले प्लाष्टिकको बोरामा पोको पारेर ओडारमा राखिएको अवस्थामा भेटेको बताइएको छ।

    त्यसबेला विद्यालयको ढोका फोरेर ल्यापटप चोरी भएपछि तत्काल खोजी कार्य तीब्र पारिएको थियो। विद्यालयकी शिक्षक शान्ता आङ्बुहाङका अनुसार खोजीकै क्रममा करिव तीन महिनापछि हराएका ११ मध्ये तीनवटा ल्यापटप फाकुम्बाकै घोडेचौर भन्ने स्थानमा झ्यासमा फालिएको अवस्थामा भेटिएको थियो।

    बाँकी आठवटा ल्यापटप भने निरन्तर खोजी भइरहे पनि फेला पर्न सकेको थिएन। खोजी गर्ने क्रममै झण्डै डेढ वर्षपछि मङ्गलबार गाउँ नजिक जङ्गलको एक ओडारमा बोरामा पोका पारेर राखिएको अवस्थामा फेला परेको बताइएको छ। विद्यालयका प्रधानाध्यापक गोपाल ठाकुरलाई उक्त ओडारमा ल्यापटप भएको एक सूचना भएपछि तत्काल प्रहरी, वडाका जनप्रतिनिधि र प्र.अ. ठाकुरसहितको टोली सो स्थानतर्फ गएको थियो।

    ल्यापटपहरु दुरुस्त अवस्थाका रहेपनि प्रयोगमा ल्याउन मिल्ने वा नमिल्नेबारे थाहा नभएको विद्यालयकी शिक्षक आङ्बुहाङले बताउनुभयो। उहाँका अनुसार फेला परेको ल्यापटपहरु प्रहरीको जिम्मामा रहेको छ। यसअघि फेला परेका तीनवटा ल्यापटप पनि प्रहरीकै जिम्ममा रहेको विद्यालयले जनाएको छ। विद्यालयका अनुसार करिव तीन महिनापछि फेला परेको ल्यापटप घटनाबारे अनुसन्धान गर्न फरेन्सिक टेष्ट गर्नुपर्ने भन्दै प्रहरीले लगेको थियो। त्यसबेला प्रहरीले लगेको ल्यापटपको अहिलसम्म फरेन्सिक टेष्टको कुनै नतिजा नआएको र ल्यापटप पनि फिर्ता नभएको विद्यालयले जनाएको छ।

    शैक्षिक गुणस्तर सुधार कार्यक्रमअन्तर्गत ह्युमन प्राक्टिस फाउण्डेसन (एचपिएफ) ले उक्त विद्यालयमा आइसिटी कक्षा सञ्चालनका लागि ल्यापटपहरु उपलब्ध गराएको थियो। विद्यालयलाई उपलब्ध गराएको केही समयपछि ल्यापटप चोरी भएको थियो। विद्यालयका अनुसार ल्यापटप मात्र नभई त्यसअघि पनि विद्यालयका झ्यालढोका तोडफोड गरेर विभिन्न सामग्रीहरु चोरीका घटना भएका थिए। #गोरखापत्र 

     

    images
    बुधवार, जेठ १ २०८२०५:५५:०९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार