आइतवार, जेठ १२ २०८२
जेठ, ११ गते/ काठमाडौ। निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) कीर्तिपुर नगरपालिकाले अन्तर- स्कुल वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ। कीर्तिपुर नगर प्याब्सनका अध्यक्ष रवि भण्डारीको सभापतित्व तथा कीर्तिपुर नगरपालिकाको नगर उपप्रमुख शुभलक्ष्मी शाक्यको प्रमुख आतिथ्यतामा उक्त प्रतियोगिता सम्पन्न भएको हो।
वक्तृत्वकला प्रतियोगिताको शीर्षक 'सामाजिक संजाल अवसर र चुनौती' विषय रहेको थियो। उक्त प्रतियोगितामा ग्रीन भिलेज एजुकेसन फाउन्डेसनका विद्यार्थी दीक्षा अधिकारीले प्रथम स्थान हात पारिन। त्यस्तै द्वितीय स्थान पुष्पसदन स्कुलकी मान्यता शर्मा, तृतीय स्थान मेगस स्कुलकी बिभुसा पौड्याल र चौथो स्थान ग्रीन भिलेजकै युनिसा बुढाथोकीले हात पारिन्।
उक्त प्रतियोगितामा कीर्तिपुर नगर प्याब्सन सदस्य विद्यालयका २५ जना विद्यार्थीहरुको उपस्थिती रहेको थियो।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख शुभलक्ष्मी शाक्यले वक्तृत्वकला प्रतियोगिताले विद्यार्थीहरुको निहित क्षमताको पहिचानको लागि अत्यन्तै महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले प्रतियोगितामा सहभागी प्रतियोगीहरुलाई बधाई तथा शुभकामना ब्यक्त गर्नुभयो।
कार्यक्रमका सभापति तथा कीर्तिपुर नगर प्याब्सनका अध्यक्ष रवि भण्डारीले बिजेता र सहभागी विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिनुभयो । उक्त कार्यक्रम शुभकामना एकेडेमी कीर्तिपुरको संयोजनमा सम्पन्न भएको थियो। कार्यक्रममा आयोजक स्कुलका शुभकामना एकेडेमिका प्रिन्सिपल मोतिलाल चौधरीले स्वागत मन्तव्य दिनुभयो।
कार्यक्रममा कीर्तिपुर नगर प्याब्सनका सल्लाहकार दिलमान महर्जनले शुभकामना मन्तव्य दिनुभयो। उक्त कार्यक्रम कीर्तिपुर नगर प्याब्सनका सचिव हरेराम अधिकारीले संचालन गर्नुभयो। साथै कार्यक्रममा नगर प्याब्सन कार्यसमितिका पदाधिकारी,सदस्य तथा बिभिन्न विद्यालयका प्रिन्सिपलहरु सहभागी रहेका थिए।
पालिका स्तरिय वक्तृत्वकला प्रतियोगितामा प्रथम र द्वितीय हासिल गर्ने प्रतियोगिहरु जेठ १५ गते हुने जिल्ला स्तरिय वक्तृत्वकला प्रतियोगितामा सहभागी हुनेछन्।