सोमवार, आषाढ २३ २०८२
असार, २३ गते। काठमाडौँको छाउनीस्थित फ्युचर स्टार स्कुलले सतप्रतिशत उत्कृष्ट नतिजा हासिल गरेको SEE २०८१ ब्याचलाई सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न गरेको छ। गत शनिवार विद्यालयमा एक कार्यक्रमका विच विद्यार्थीहरुलाई बिभिन्न पुरस्कार एवं सम्मान सहित बिदाई गरेको हो।

यस विद्यालयबाट १७ जना मध्येबाट अमरेन्द्र केशरी चन्दले ४ जिपिए र बाँकी सत प्रतिशत विद्यार्थीले उत्कृष्ट जिपिए ल्याएर उत्तीर्ण गरेका हुन्।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष निर्देशक मनोज श्रेष्ठको सभापतित्व तथा काठमाडौँ महानगरपालिकाका शिक्षा अधिकृत लक्ष्मी पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमममा काठमाडौँ महानगरपालिका कार्यपालिका सदस्य तथा १५ वडा सदस्य श्री मैयालक्ष्मी महर्जन, नेसनल प्याब्सनका केन्द्रिय सचिव तथा गीताञ्जली स्कुल/कलेजका प्राचार्य वेद प्रसाद पन्त, विद्यालयका संस्थापक निर्देशक श्री विनीता श्रेष्ठ , प्रिन्सिपल श्री प्रोशन राजभण्डारी, डल्लु आवास स्थानीय सहयोग समिति सदस्य सञ्जय ध्याखो लगायत अभिभावक, शिक्षक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा एसईई २०८१ मा ४ जिपिए ल्याउने अमरेन्द्र केशरी चन्दलाई नगद २५ हजार सहित सम्मान गरिएको थियो। भने विद्यालय शिक्षकहरुले आफ्नो विषयमा ३.६ जिपिए भन्दा बढी ल्याउने विद्यार्थीहरुलाई नगद सहित पुरस्कार वितरण गरेका थिए।

बधाई कार्यक्रममा आफ्नो धारणा राख्दै कालीमाटी जनप्रभात मावि श्रोत केन्द्रका विद्यालय निरीक्षक श्री लक्ष्मी पौडेलले सानो विद्यालय भवनका विद्यार्थीले पनि जिपिए ४ र सतप्रतिशत उत्कृष्ट नतिजा हासिल गर्न सक्ने दरिलो प्रमाण फ्युचर स्टार स्कुल र यसका शिक्षकले दिएको छ भनेर प्रेरणादायी भनाइ प्रस्तुत गर्नुभयो।

त्यस्तै स्रोत शिक्षक श्री खगराज जोशीले अभिभावक, शिक्षक र विद्यार्थीहरूको संयुक्त तागत, मेहेनत र सिकाइ विधि नै सफलताको कडी हो भन्नु भयो।
प्रिन्सिपल प्रोशन राजभण्डारीले आफ्नो मन्तव्य राख्दै आफू यही विद्यालयबाट सर्बप्रथम २०६१ सालमा एकमात्र विशिष्ट श्रेणीमा उत्तीर्ण हुँदाको त्यो क्षण आज आफू यही विद्यालयमा प्रिन्सिपल हुँदाको बखत विद्यार्थी भाइ अमरेन्द्र केशरी चन्दले ४ जिपिए स्कोर ल्याएर पुनः उस्तै र अझ त्यो भन्दा बढी खुशीको क्षण महशुस गर्न पाउनु नै गौरवपूर्ण सुखानुभूतिको अनुभव प्राप्त भएको क्षणको रुपमा लिएको कुरा प्रष्ट्याउनु भयो।

उक्त कार्यक्रममा बोल्दै विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष मनोज श्रेष्ठले एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई दिँदै लामो समयदेखि विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै उत्कृष्ट नतिजा ल्याउने गरेको बताउनु हुँदै सबैलाई हौसलामय सन्देश दिनुभयो।

