मंगलवार, आषाढ २४ २०८२
असार, २४ गते/ काभ्रेपलान्चोक। जिल्लाको भुम्लु गाउँपालिकामा आधारभूत तहको शिक्षा ‘अनिवार्य तथा निःशुल्क’ पालिका घोषणा गरिएको छ । सोमबार गाउँपालिकाले एक कार्यक्रम विच पालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षायुक्त गाउँपालिका घोषणा गरेको हो ।
आधारभूत तहको शिक्षा अनिवार्य र निशुल्क गर्ने घोषणापत्रमा हस्ताक्षर गरेर गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेल, उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा लामा), प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर खत्रीले घोषणा गरेका हुन् ।

गाउँपालिकाको सबै गाउँ, टोल, बस्ती, क्षेत्र भित्र गरिएको सर्वेक्षणमा ४ वर्षदेखि १३ वर्षसम्मका विद्यालय उमेर समूहका बालबालिका शतप्रतिशत विद्यालयमा भर्ना भएको र सबै वडाहरू अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएसँगै पालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गरिएको बताइएको छ।
संविधानले सुनिश्चित गरेको शिक्षा सम्बन्धी अधिकारलाई पालिकाले शतप्रतिशत कार्यान्वयन गर्दै अनिवार्य तथा निःशुल्क शिक्षा लागू स्थानीय तह घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेलले बताए। उनले शिक्षामा लगानी गरेर गाउँपालिकाले परिणाम ल्याउन लागेको भन्दै शिक्षा, स्वास्थ्य, योग लगायतका क्षेत्रमा परिणाम देखिन थालेको बताए । पढ्दै कमाउँदै कार्यक्रममार्फत माध्यमिक तहका विद्यार्थीलाई उत्पादन र आयआर्जनमा लगाउन खोजिएको भन्दै उनले उच्च शिक्षाको लागि विदेश जाने क्रम रोकिनुपर्ने बताए ।

जिल्ला समन्वय समिति काभ्रेका सदस्य कमलराज गिरीले शिक्षा क्षेत्रमा भुम्लु गाउँपालिकाले गरेको लगानीको प्रशंसा गरे ।प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर खत्रीले गाउँपालिकाले शिक्षामा गरेको लगानीको प्रतिफल देखिदै गएको भन्दै नतिजा क्रमशः देखिदै गएको बताए । गाउँपालिकाको लगानी र सबैको मिहेनतले एस।ई।ई परिक्षामा २५ प्रतिशत उर्तीण प्रतिशतलाई ७२ प्रतिशत पुर्याउन सफल भएको बताए ।
उक्त कार्यक्रममा भुम्लु गाउँपालिकाले माध्यमिक शिक्षा परिक्षा (एस.ई.ई) २०८१ मा उत्कृष्ट अंक ल्याउने २ जना विद्यार्थीलाई जनही १ लाख रुपैयाँले पुरस्कृत गरेको छ ।

भुम्लु गाउँपालिका भित्रका विद्यालयहहरुबाट सबैभन्दा उत्कृष्ट अंक ल्याउने १/१ जना छात्रा र छात्रलाई गाउँपालिकाले नगदसहित सम्मान गरेको हो ।
छात्रातर्फ वडा नं १, सापिङको रिठ्ठेस्थित सेतीदेवी माध्यमिक विद्यालयका प्रशन गिरीले ३ दशमलव ७४ सिजिपिए प्राप्त गरी उत्कृष्ट भएका थिए । अरुणोदय माध्यमिक विद्यालय, भुम्लु गाउँपालिका वडा नं २, सिमथलीका मनिता खड्काले ३ दशमलव ४४ सिजिपिए ल्याएर छात्रातर्फ उत्कृष्ट भइन् ।
भुम्लु गाउँपालिकाले विगत २ बर्षदेखि एस.ई.ई मा उत्कृष्ट नतिजा ल्याउनेलाई नगदसहित सम्मान गर्दै आएको छ ।