शनिवार, पौष १९ २०८२
काठमाडौँ । कीर्तिपुर नगर प्याब्सन कीर्तिपुरको आयोजनामा “Implementation of Integrated Curriculum and Portfolio-Based Assessment; Policy to Practice” विषयक कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रम कीर्तिपुर नगर प्याब्सनका अध्यक्ष रवि भण्डारीको सभापतित्व तथा जिल्ला प्याब्सन काठमाडौँका उपाध्यक्ष एवं तालिम विभाग संयोजक सूर्य केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा जिल्ला प्याब्सन काठमाडौँका सह–सचिव तथा तालिम विभागका सचिव शिव अर्याल, शैक्षिक सल्लाहकार लाक्पाशेर्पा लगायत सल्लाहकार कार्यसमितिका पदाधिकारी एवं सदस्यहरू, विभिन्न विद्यालयका प्रिन्सिपलहरू तथा तालिममा सहभागी शिक्षिकाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

तालिमका सहजकर्ता डा. रबिना महर्जनले एकीकृत पाठ्यक्रमको व्यवहारिक कार्यान्वयन र पोर्टफोलियो–आधारित मूल्यांकनको अभ्यासबारे विस्तृत प्रस्तुति दिनुभएको थियो। उहाँले विभिन्न विषयवस्तुलाई आपसमा जोड्दै थीम–आधारित सिकाइ, परियोजना कार्य, समस्या समाधान–आधारित गतिविधि तथा स्थानीय सन्दर्भ समेटिएको शिक्षण विधिबाट विद्यार्थीको सिकाइलाई प्रभावकारी बनाउन सकिने बताउनुभयो।

कार्यशालामा सहभागी शिक्षक तथा विद्यालय प्रमुखहरूले प्रस्तुतिलाई व्यवहारिक, समसामयिक र उपयोगी भएको प्रतिक्रिया दिएका छन्। आयोजक नगर प्याब्सन कीर्तिपुरले यस्ता तालिमहरूले शिक्षण–सिकाइ प्रक्रियालाई अझ प्रभावकारी बनाउँदै विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेको छ।

कार्यक्रमको संयोजन नगर प्याब्सन कीर्तिपुर कार्यसमितिका सदस्य एवं तालिम विभाग संयोजक कृष्ण उपाध्यायले गर्नुभएको थियो।


