बिहिवार, माघ १६ २०८२
उदयपुर — माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत चन्द्रावती माध्यमिक विद्यालय, लेखानीका विद्यार्थीहरूलाई न्यानो स्विटर वितरण गरेको छ।
कटारी शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा बैंकका मधेश प्रदेश प्रमुख कृष्णबहादुर साह, कर्मचारी मुकेश थापा, शाखा प्रबन्धक परमानन्द यादव तथा कर्जा शाखाका प्रतिनिधि रमेश यादवको उपस्थिति रहेको थियो।

प्ले ग्रुपदेखि कक्षा ६ सम्म अध्ययनरत १४६ जना विद्यार्थीलाई चिसो मौसमबाट जोगाउने उद्देश्यले स्विटर हस्तान्तरण गरिएको हो। यस सहयोगले विद्यार्थीहरूको स्वास्थ्य संरक्षणका साथै नियमित अध्ययनमा पनि सकारात्मक प्रभाव पर्ने बैंकले जनाएको छ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य देवराज खनाल लगायत विद्यालय परिवारले बैंकप्रति आभार व्यक्त गर्दै यस्ता सामाजिक कार्यले विद्यार्थीहरूमा थप उत्साह र आत्मविश्वास बढ्ने बताए।
बैंकका प्रतिनिधिहरूले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा सामुदायिक विकासका क्षेत्रमा यस्ता सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका का छन् ।