बुधवार, माघ २९ २०८२
ओखलढुंगा । ओखलढुंगाको लिखु गाउँपालिकाभित्र शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको ‘शैक्षिक गुणस्तर र No-NG अभियान’ प्रभावकारी रूपमा अघि बढिरहेको छ। अभियान अन्तर्गत विद्यालयहरूमा नियमित अनुगमन, सिकाइ उपलब्धि मापन तथा कक्षा व्यवस्थापनमा सुधारका प्रयासहरू तीव्र पारिएको गाउँपालिकाले जनाएको छ।

यस अभियानलाई सार्थक बनाउन नारायणदेवी माध्यमिक विद्यालयले गरेको शिक्षण–सिकाइ क्रियाकलाप, अतिरिक्त समयमा कक्षा सञ्चालन तथा विद्यार्थी केन्द्रित अभ्यास उत्कृष्ट र प्रभावकारी रहेको पालिकाको मूल्याङ्कन छ। विद्यालयले विषयगत सहजीकरण, नियमित पुनरावृत्ति कक्षा, सिकाइ सहजीकरण सामग्रीको प्रयोग तथा नतिजामुखी योजना कार्यान्वयनलाई प्राथमिकतामा राखेको छ।
गाउँपालिका शिक्षा शाखा प्रमुख सेर रावतका अनुसार ECD देखि कक्षा १२ सम्मका विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्ने लक्ष्यसहित कार्यक्रम सुरु गरिएको हो। “No-NG अभियानले न्यून नतिजालाई शून्यमा झार्ने र सबै विद्यार्थीलाई न्यूनतम सिकाइ उपलब्धि हासिल गराउने लक्ष्य लिएको छ,” उनले बताए।

अभियान अन्तर्गत शिक्षक अभिमुखीकरण, नियमित मूल्याङ्कन प्रणाली, अभिभावकसँग समन्वय तथा कमजोर विद्यार्थीका लागि विशेष सहयोग कक्षा सञ्चालन गरिँदै आएको छ। विद्यालय र स्थानीय सरकारबीचको सहकार्यले अभियानलाई थप प्रभावकारी बनाएको शिक्षा शाखाले जनाएको छ।
लिखु गाउँपालिकाले आगामी शैक्षिक सत्रमा अझ सुदृढ कार्ययोजना बनाएर सम्पूर्ण विद्यालयमा समान रूपमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। स्थानीय तहको सक्रियता र विद्यालयको सकारात्मक अभ्यासले यस अभियानले उल्लेखनीय सफलता हासिल गर्ने अपेक्षा गरिएको छ।
