बिहिवार, माघ ३० २०८२
खोटाङ — जन्तेढुङ्गा गाउँपालिकाले स्वीकृत दरबन्दीमा कार्यरत शिक्षकहरूलाई माघ महिनादेखि स्थानीय भत्ता उपलब्ध गराउने निर्णय गरेको छ। गाउँ कार्यपालिकाको मिति २०८२/०९/२७ गते बसेको बैठकले उक्त निर्णय गरेको हो।
गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका अनुसार आर्थिक वर्ष २०८२/०८३ को कार्यक्रम कार्यान्वयन कार्यविधिअनुसार शिक्षकको स्थानीय भत्ता उपलब्ध गराउने व्यवस्था गरिएको छ। सोही व्यवस्था कार्यान्वयन गर्ने क्रममा स्थानीय तहबाट औपचारिक निर्णय गरिएको जनाइएको छ।
सूचनामा उल्लेख भएअनुसार स्वीकृत दरबन्दीमा कार्यरत स्थायी तथा अस्थायी शिक्षक, प्राविधिक धारका शिक्षक, प्रशिक्षक तथा सहायक प्रशिक्षकहरूलाई स्थानीय भत्ता प्रदान गरिनेछ। स्थानीय भत्ता प्रयोजनका लागि खोटाङ जिल्ला (ग) वर्गमा परेको हुँदा सोही आधारमा भत्ता उपलब्ध गराउने निर्णय गरिएको हो।
शिक्षकहरूले लामो समयदेखि स्थानीय भत्ता उपलब्ध गराउन माग गर्दै आएका थिए। गाउँपालिकाले शिक्षकहरूको माग र कार्यविधिमा उल्लेखित व्यवस्थालाई मध्यनजर गर्दै माघ महिनादेखि भत्ता कार्यान्वयनमा ल्याउने जनाएको छ।
यस निर्णयले गाउँपालिकाभित्र कार्यरत शिक्षकहरूलाई राहत पुग्ने विश्वास गरिएको छ। गाउँपालिकाले सम्बन्धित सबै शिक्षकहरूलाई निर्णयबारे जानकारी गराउँदै आवश्यक प्रक्रिया पूरा गर्न अनुरोध गरेको छ।
