शुक्रवार, फाल्गुण १ २०८२
रामेछाप। उमाकुण्ड गाउँपालिकाको आयोजनामा गाउँपालिका स्तरीय माध्यमिक तह विज्ञान तथा गणित प्रदर्शनी कार्यक्रम भव्य र उत्साहजनक वातावरणमा सम्पन्न भएको छ। शैक्षिक गुणस्तर अभिवृद्धि तथा विद्यार्थीहरूमा सिर्जनशीलता विकास गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रमले सम्पूर्ण गाउँपालिकालाई नै शैक्षिक उत्सवको माहोलमा डुबाएको थियो।

कार्यक्रमका सभाध्यक्ष सिद्धेश्वर माविका प्रधानाध्यापक निर्मल प्रसाद त्रिपाठी रहनुभएको थियो भने प्रमुख अतिथिका रूपमा गाउँपालिका अध्यक्ष शेर बहादुर सुनुवारको उपस्थिति रहेको थियो।
कार्यक्रममा वडा नं. १, २ र ३ का वडा अध्यक्षहरू, सिद्वेश्वर शिक्षा पब्लिक क्याम्पस बाम्तका प्रमुख जगदीश बस्नेत, सातै वटा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरू, सिद्धेश्वर माविका शिअसं अध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति पदाधिकारीहरू, हिमगंगा मावि लिखुपिके ३ साेलुखुम्बुका प्राधानाध्यापक हेम बहादुर बस्नेत, वडा नं. २ का वडा सदस्यहरू, वडा नं. १, २ र ३ अन्तर्गतका फिडर विद्यालयका प्रधानाध्यापकहरू, शिक्षक–कर्मचारीहरू तथा कक्षा ४ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि सुनुवारले आधुनिक शैलीअनुसार जगबाट माटोको भाँडामा पानी हालेर बत्ती बाल्दै कार्यक्रमलाई औपचारिक रूपमा शुभारम्भ गर्नुुभएकाे थियाे ।
गाउँपालिकाभित्रका सातै वटा माध्यमिक विद्यालयहरूबीच विज्ञान र गणित विषयमा प्रतिस्पर्धा गरिएको उक्त कार्यक्रममा दुवै विषयमा १००/१०० पूर्णाङ्क गरी जम्मा २०० पूर्णाङ्कका आधारमा मूल्यांकन गरिएको थियो। प्रत्येक विद्यालयबाट ६ जना विद्यार्थी र २ जना शिक्षक सहभागी भएका थिए भने मूल्यांकन छिमेकी गाउँपालिकाका शिक्षकहरूले निष्पक्ष रूपमा गर्नुभएको थियो।

प्रदर्शनीको अवसरमा सिद्धेश्वर माविका विद्यार्थीहरूले केमेस्ट्री, मेकानिकल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, ब्रिज निर्माण तथा स्क्र्याच प्रोग्रामिङ जस्ता विषयमा आकर्षक कार्यशाला सञ्चालन गरेका थिए। शेर्पा स्कुलले समेत प्रदर्शनीमा सहभागिता जनाएको थियो।
प्रतियोगिताको नतिजाअनुसार श्री चण्डेश्वरी मावि उमाकुण्ड–४ प्रिति प्रथम, श्री सिद्धेश्वर मावि उमाकुण्ड–२ बाम्ती द्वितीय, श्री जनता मावि उमाकुण्ड–३ कुबुँ तृतीय तथा श्री कैलेश्वर मावि उमाकुण्ड–६ गुप्तेश्वर सान्त्वना स्थान हासिल गर्न सफल भएका थिए। विजयी विद्यालयहरूलाई क्रमशः २० हजार, १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्रमुख अतिथि लगायत अतिथिहरूबाट प्रदान गरिएको थियो। सहभागी विद्यालयहरूलाई पनि प्रमाणपत्र वितरण गरिएको थियो।
कार्यक्रममा सहभागी हुने विद्यालयहरूका लागि आवत–जावत यातायात खर्च, खाना तथा खाजाको व्यवस्थासमेत गरिएको थियो भने तयारी खर्चस्वरूप प्रत्येक माध्यमिक विद्यालयलाई १० हजार रुपैयाँ उपलब्ध गराइएको थियो । यस प्रदर्शनी कार्यक्रममा अवलोकनका निम्ति आउनु हुने फिडर विद्यालय विद्यार्थी र शिक्षकहरूलाई समेत खाजाकाे व्यवस्था गरिएको छ । आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रमअन्तर्गत २ लाख ५० हजार रुपैयाँ बजेटमा कार्यक्रम सम्पन्न गरिएकाे छ।
कार्यक्रमकाे अन्त्यमा बाेल्दै प्रमुख अतिथि सुनुवारले गाउँपालिकाले शिक्षा क्षेत्रमा निरन्तर लगानी र सुधारका प्रयास गरिरहेको उल्लेख गर्दै विद्यालयको भौतिक संरचना सुधार, शिक्षक क्षमता अभिवृद्धि तालिम, प्रविधि मैत्री कक्षा सञ्चालन तथा अतिरिक्त क्रियाकलापलाई प्राथमिकतामा राखिएको बताउनुभयो। उहाँले विज्ञान तथा गणित प्रदर्शनीजस्ता कार्यक्रमले विद्यार्थीहरूमा तार्किक सोच, सिर्जनशीलता र आत्मविश्वास विकास गर्ने भएकाले आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ व्यवस्थित र प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
परम्परागत घोकन्ते शिक्षण प्रणालीभन्दा प्रयोगात्मक, अनुसन्धानमुखी र सीपमूलक शिक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै स्थानीय तह, विद्यालय र अभिभावकबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरियो। विज्ञान र गणितलाई व्यवहारिक अभ्याससँग जोडेर सिकाउँदा मात्र दीर्घकालीन रूपमा दक्ष जनशक्ति उत्पादन गर्न सकिने विश्वास व्यक्त गरिएको छ। साथै ग्रामीण क्षेत्रका विद्यार्थीलाई अवसर र प्रेरणा प्रदान गर्न यस्ता प्रतिस्पर्धात्मक तथा सिकाइमुखी कार्यक्रम अपरिहार्य रहेको उल्लेख गर्नुभयो।

विज्ञान तथा गणित प्रदर्शनी कार्यक्रमले विद्यार्थीहरूमा सिर्जनशीलता, अनुसन्धानात्मक सोच र व्यवहारिक ज्ञान विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
अन्त्यमा, यस कार्यक्रमलाई सफलता पूर्वक सम्पन्न गर्न सहयोग पुर्याउनु हुने सम्पूर्ण सराेकारवाला महानुभावहरू प्रति हार्दिक धन्यवाद सहित कृतज्ञता व्यक्त गर्दैछौं