शनिवार, फाल्गुण २ २०८२
सुन्दरहरैँचा (मोरङ), फागुन ३ — बदलिँदो विश्व परिवेशसँगै विद्यालयका शिक्षक तथा विद्यार्थीका क्षमता, सिप र अवसरलाई उजागर गर्ने उद्देश्यसहित सुन्दरहरैँचा नगरपालिकाले फागुन ४, ५ र ६ गते ‘प्रथम सुन्दरहरैँचा शैक्षिक महोत्सव २०८२’ आयोजना गर्ने भएको छ । “ज्ञान र सिपको उत्सव, सुन्दरहरैँचा शैक्षिक महोत्सव” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको उक्त महोत्सवले नगरभित्रको शैक्षिक गतिविधिलाई नयाँ उचाइमा पुर्याउने विश्वास लिइएको छ ।
आयोजकका अनुसार महोत्सवमा नगरभित्रका धार्मिक, सामुदायिक तथा संस्थागत गरी जम्मा ८७ विद्यालयका ३६ हजार १५४ विद्यार्थी सहभागी हुनेछन् । शिक्षकहरूको निर्देशनमा विद्यार्थीले निर्माण गरेका पाठ्यक्रम तथा सिकाइसँग सम्बन्धित विभिन्न सामग्रीहरूको प्रदर्शनी मुख्य आकर्षणका रूपमा रहनेछ ।
महोत्सव अवलोकनका लागि विभिन्न संघ–संस्था, अभिभावक, शिक्षाकर्मी, बुद्धिजीवी, समाजसेवी, शिक्षासेवी तथा राजनीतिक व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ । करिब १ लाख ५० हजार मानिसले प्रत्यक्ष रूपमा महोत्सवको अवलोकन गर्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।
त्यस्तै महोत्सवमा नमुना निर्वाचन, नमुना संसदीय अभ्यास, नमुना इजलास प्रदर्शनी, उद्यम, कला, व्यवस्थापन तथा व्यावसायिक सिपसम्बन्धी प्रदर्शनीका साथै विद्यार्थीहरूका विविध जातिगत सांस्कृतिक झाँकीहरू पनि प्रस्तुत गरिनेछ ।
यसबाट विद्यार्थीहरूमा नेतृत्व विकास, सिर्जनात्मकता अभिवृद्धि तथा व्यवहारिक सिकाइ प्रवर्द्धन हुने विश्वास लिइएको छ । नगरपालिकाले महोत्सवलाई नगरको शैक्षिक पहिचान स्थापित गर्ने महत्वपूर्ण अभियानका रूपमा लिएको जनाएको छ ।