बिहिवार, फाल्गुण ७ २०८२
काठमाण्डौं । नेपाली कांग्रेसले आफ्नो प्रतिज्ञा पत्रमार्फत शिक्षालाई खर्च नभई राष्ट्रको सबैभन्दा महत्वपूर्ण लगानीका रूपमा व्याख्या गर्दै आर्थिक अभावका कारण कुनै पनि बालबालिका गुणस्तरीय शिक्षाबाट वञ्चित नहुने व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ।
पार्टीले सार्वजनिक गरेको शिक्षा सम्बन्धी अवधारणामा शिक्षाको सर्वसुलभ पहुँच र पूर्वाधारमा आधारभूत परिवर्तन गरिने उल्लेख गरिएको छ। प्रतिज्ञा पत्रमा राज्यले शिक्षालाई प्राथमिकतामा राख्दै समावेशी, गुणस्तरीय र प्रविधिमैत्री शिक्षा प्रणाली विकास गर्ने नीति लिएको जनाएको छ।
नेपाली कांग्रेसले बालबालिकाको शारीरिक पोषण र सिकाइ क्षमताबीचको सम्बन्धलाई आत्मसात् गर्दै शिक्षासँगै पोषणको जिम्मेवारीसमेत राज्यले लिने उल्लेख गरेको छ। शारीरिक रूपमा स्वस्थ र पोषित बालबालिकाले सिकाइमा राम्रो उपलब्धि हासिल गर्ने विश्वास पार्टीको छ।
त्यस्तै, विद्यालय र खेलमैदानलाई सुरक्षित, हिंसा तथा शोषणमुक्त क्षेत्रका रूपमा विकास गरिने उल्लेख छ। बालबालिकाले रमाइलो वातावरणमा सिक्ने र खेल्ने अवसर पाउने सुनिश्चितता गर्ने प्रतिवद्धता प्रतिज्ञा पत्रमा गरिएको छ।
प्रि-प्राइमरीदेखि विश्वविद्यालय तहसम्मको शिक्षालाई प्रविधि, प्रयोगात्मक अभ्यास र नवप्रवर्तनसँग जोडिने जनाइएको छ। शिक्षालयहरूलाई विद्यार्थीको सृजनशीलता अभिवृद्धि गर्ने केन्द्रका रूपमा विकास गरिने तथा अनुसन्धान र नवाचारलाई प्रोत्साहन गरिने नीति लिइएको छ।
पार्टीले जीवनोपयोगी ज्ञान, विवेकपूर्ण चेतना र मूल्यमा आधारित शिक्षा प्रणालीमार्फत नेपाली युवालाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने लक्ष्य अघि सारेको छ। शिक्षा क्षेत्रको समग्र सुधारमार्फत परिवारलाई छोराछोरी पढाउन आर्थिक भार नपर्ने वातावरण निर्माण गर्ने नेपाली कांग्रेसको प्रतिवद्धता रहेको छ।
