सोमवार, फाल्गुण ११ २०८२
फागुन ११, काठमाडौं। काठमाडौँ महानगरपालिका ले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा गुणस्तर वृद्धि गर्ने उद्देश्यले ६२७ जना विद्यार्थीका लागि विशेष कक्षा सञ्चालन गरेको छ। शिक्षा विभागअन्तर्गत सुरु गरिएको यो कार्यक्रम विशेष गरी गत वर्ष ५० प्रतिशतभन्दा कम नतिजा ल्याएका विद्यालयलाई लक्षित गरिएको हो।
पहिलो चरणमा गीतामाता माध्यमिक विद्यालय, कोटेश्वर सरस्वती माध्यमिक विद्यालय, जुद्धोदय माध्यमिक विद्यालय, पद्मकन्या माध्यमिक विद्यालय, परोपकार माध्यमिक विद्यालय र गुहेश्वरी बाल शिक्षा माध्यमिक विद्यालय मा विशेष कक्षा सुरु गरिएको छ। यी विद्यालयका ५२३ जना विद्यार्थीलाई विषयविज्ञ, स्रोत शिक्षक तथा सेवानीवृत्त शिक्षकमार्फत अतिरिक्त सहजीकरण गरिनेछ।

दोस्रो चरणमा प्रभात माध्यमिक विद्यालय, नवयुग माध्यमिक विद्यालय, नेपाल आदर्श माध्यमिक विद्यालय, भक्त विद्याश्रम माध्यमिक विद्यालय र नन्दी रात्री माध्यमिक विद्यालय मा चैत ३ गतेपछि कक्षा सञ्चालन गरिनेछ। ती विद्यालयका १०४ जना विद्यार्थी सहभागी हुनेछन्।
कार्यक्रमको शुभारम्भ गर्दै महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल ले विद्यार्थीमा परीक्षाप्रतिको डर हटाई आत्मविश्वासका साथ परीक्षा दिन उत्प्रेरित गर्ने र उत्तर लेखन सीप विकास गर्ने उद्देश्यले विशेष कक्षा सञ्चालन गरिएको बताउनुभयो। उहाँले विद्यार्थीलाई नियमित अभ्यास, समय व्यवस्थापन र प्रश्नअनुसार उत्तर लेख्ने सीपमा ध्यान दिन आग्रह गर्नुभयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं. १५ का वडाध्यक्ष ईश्वरमान डंगोल ले सफलता प्राप्त गर्न निरन्तर मिहिनेत र मानसिक तयारी आवश्यक रहने धारणा राख्नुभयो।

शिक्षा विभागका प्रमुख नमराज ढकाल का अनुसार यस वर्ष महानगरभित्रका सामुदायिक विद्यालयबाट करिब ४ हजार ५५७ विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदैछन्। विशेष कक्षा कुल परीक्षार्थीको करिब १३ प्रतिशतलाई लक्षित गरी सञ्चालन गरिएको हो।
शिक्षा अधिकृत केशव ज्ञवाली ले विगत वर्ष केन्द्र तोकेर अन्य विद्यालयमा पठाउँदा विद्यार्थीमा असहजता र हीनताबोध देखिएको अनुभवपछि यस वर्ष आफ्नै विद्यालयमा विशेष कक्षा सञ्चालन गरिएको जानकारी दिनुभयो।

महानगरपालिकाका अनुसार सिकाइ उपलब्धि न्यून भएका विद्यार्थीलाई आवश्यक परीक्षा सीप, लेखन शैली र विषयगत ज्ञान प्रदान गरी समग्र सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत वृद्धि गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो।
गत वर्ष (२०८१) को एसईईमा ७८९ विद्यार्थीले ३.६१ देखि ४ जीपीए प्राप्त गरेका थिए, जसमा १७ जनाले ४ जीपीए हासिल गरेका थिए। महानगरपालिकाले यस वर्ष थप सुधारको अपेक्षा गरेको