बिहिवार, फाल्गुण २८ २०८२
२८/ फागुन। पर्वत जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने विद्यार्थीको संख्या पछिल्ला वर्षहरूमा निरन्तर घट्दै गएको छ। यस वर्ष जिल्लाबाट १ हजार ६८४ जना विद्यार्थी एसईई परीक्षामा सहभागी हुने तयारीमा छन्, जुन गत वर्षका १ हजार ८१३ जना र त्यसअघिको २ हजार ५० जनाभन्दा कम हो।
जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ पर्वतका अनुसार ग्रामीण क्षेत्रबाट बसाइँसराई बढ्नु, अभिभावक रोजगारीका लागि विदेश वा शहरतर्फ जानु, निजी विद्यालयतर्फ आकर्षण बढ्नु तथा घट्दो जन्मदरका कारण विद्यार्थी संख्या कम हुँदै गएको हो। जिल्लाका विभिन्न स्थानीय तहका धेरै सामुदायिक विद्यालयमा विद्यार्थी संख्या न्यून हुँदै गएको छ भने ३२ भन्दा बढी विद्यालयमा विद्यार्थी नै छैनन्।
विद्यार्थी संख्या घट्दै गएपछि विद्यालय समायोजन, शिक्षक व्यवस्थापन तथा शैक्षिक सुधारका कार्यक्रम अघि बढाउने तयारी गरिएको छ। कुश्मा नगरपालिकाले केही विद्यालय समायोजन गरी आवासीय विद्यालयको अवधारणा अघि बढाउने योजना बनाएको छ।
यद्यपि सदरमुकाम कुश्मास्थित नारायण माध्यमिक विद्यालयमा भने यस वर्ष १२५ जना विद्यार्थी एसईईमा सहभागी हुने भएका छन्, जुन अघिल्लो वर्षभन्दा बढी हो। आगामी चैत १९ गते हुने एसईई परीक्षाका लागि जिल्लामा ९ वटा परीक्षा केन्द्र तोकिएका छन्। परीक्षालाई मर्यादित बनाउन केन्द्र रहने विद्यालयकै शिक्षकलाई केन्द्राध्यक्ष नबनाइने व्यवस्था गरिएको छ।