शनिवार, चैत्र ७ २०८२
भक्तपुर, चैत ७ । भीम आदर्श आधारभूत विद्यालयले शुक्रबार आफ्नो ६३औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। शुक्रवार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितेन्द्र खायमलीको सभापतित्व तथा भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यमा वार्षिकोत्सब सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि रजनी जोशीले भक्तपुरलाई शैक्षिक केन्द्रका रूपमा विकास गर्न अग्रजहरूले निःस्वार्थ भावनाले सामुदायिक विद्यालय स्थापना गरेको उल्लेख गर्दै ती विद्यालयहरूको उत्थानका लागि नगरपालिकाले शिक्षकसहित आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो।
उहाँले २१औँ शताब्दीअनुसार परम्परागत शिक्षण शैलीमा परिवर्तन आवश्यक रहेको औंल्याउँदै नाचगान, खेलकुदजस्ता अतिरिक्त क्रियाकलापमार्फत सिकाइ प्रभावकारी बनाउन शिक्षकहरू सक्रिय हुनुपर्ने बताउनुभयो। साथै, “एक विद्यालय, एक सम्पदा” सरसफाइ तथा संरक्षण अभियानले विद्यार्थीमा सामाजिक उत्तरदायित्व विकास गर्न मद्दत गर्ने धारणा राख्नुभयो।
मोबाइलको अत्यधिक प्रयोगले बालबालिकामा आमाबाबुप्रतिको माया, प्रेम र सद्भाव घट्दै गएको भन्दै उहाँले सचेत हुन आग्रह गर्नुभयो। उहाँले सिकाइलाई परीक्षामुखीभन्दा व्यवहारिक बनाउनुपर्नेमा पनि जोड दिनुभयो।
कार्यक्रमका सभापति तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितेन्द्र खायमलीले भविष्यका कर्णधार तयार गर्ने क्रममा भक्तपुरलाई ज्ञान–विज्ञानको केन्द्र बनाउने अभियानमा विद्यालय परिवार सक्रिय रहेको बताउनुभयो।
भक्तपुर नगरपालिका वडा नं. ८ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति सदस्य कृष्णप्रसाद कोजुले सिकाइ सहज भए पनि दैनिक फोहोर व्यवस्थापनजस्ता व्यवहारिक पक्षमा ध्यान दिन आवश्यक रहेको उल्लेख गर्दै विद्यार्थीको सिकाइलाई व्यवहारिकतामा रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो। आधारभूत विद्यालय समिति भक्तपुरका उपाध्यक्ष तथा ब्रह्मायणी आधारभूत विद्यालयकी प्रधानाध्यापक तीर्थलक्ष्मी धन्छाले समाज र राष्ट्रको विकासका लागि शिक्षक, अभिभावक, विद्यार्थी तथा सम्बन्धित निकायले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो। उहाँले सामुदायिक विद्यालयको विकासका लागि अतिरिक्त समय दिएर लगनशील र मिहिनेती शिक्षक बन्नुपर्नेमा जोड दिनुभयो।
विद्यालयका पूर्व प्रधानाध्यापक नहकुल प्रजापतिले विद्यालयको स्थानान्तरण तथा ऐतिहासिक योगदानबारे जानकारी गराउनुभयो। त्यस्तै, दोलागिरी माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवबहादुर खुलीमुलीले विद्यार्थीको सिकाइलाई व्यवहारिक बनाउन अभिभावक र शिक्षक दुवैको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। सन्तति आधारभूत विद्यालयका प्रधानाध्यापक दीपक माकले सीमित स्रोतसाधनका बाबजुद सामुदायिक विद्यालयहरूले विद्यार्थीको चौतर्फी विकासमा उल्लेखनीय उपलब्धि हासिल गरिरहेको धारणा व्यक्त गर्नुभयो।
विद्यालयकी प्रधानाध्यापक पूजा दाहालले शिक्षाले व्यक्तिलाई आत्मसम्मानी, स्वाभिमानी र नैतिकवान बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै विद्यालयको वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभयो।
सो अवसरमा वार्षिक परीक्षामा उत्कृष्ट अंक ल्याउने तथा विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा विद्यार्थी दीपशिखा तामाङ, दिपान्सु गुप्ता तथा अभिभावक सीता लामाले पनि मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरी कार्यक्रमलाई थप आकर्षक बनाएका थिए।