मंगलवार, बैशाख १५ २०८३
काठमाडौँ – नयाँ शैक्षिक सत्र २०८३ का लागि विद्यार्थी भर्ना अभियान आजदेखि देशभर औपचारिक रूपमा शुरू भएको छ। सरकारको निर्णयअनुसार वैशाख १५ गतेदेखि भर्ना प्रक्रिया सञ्चालन हुने र वैशाख २१ गतेदेखि नियमित पठनपाठन शुरू गरिने तालिका तय गरिएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै विद्यालयहरूलाई संशोधित शैक्षिक क्यालेन्डरअनुसार कार्यक्रम कार्यान्वयन गर्न निर्देशन दिएको छ। यससँगै चैत २३ गतेदेखि लागू गरिएको शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदाको व्यवस्थालाई पनि कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरिएको छ।
तर, संघीय सरकारको निर्णयप्रति स्थानीय तहहरूको असन्तुष्टि देखिँदा देशभर शैक्षिक गतिविधिमा एकरूपता कायम हुन सकेको छैन। काठमाडौँ उपत्यका मेयर्स फोरमले वैशाख ११ गतेदेखि नै भर्ना अभियान शुरू गर्न र वैशाख १५ गतेदेखि पठनपाठन सञ्चालन गर्न आग्रह गरेपछि केही पालिकाहरूले सोहीअनुसार कार्यक्रम अघि बढाएका छन्।
यसैबीच, उपत्यकाभित्र तथा बाहिरका केही स्थानीय तहहरूले सरकारी तालिकाभन्दा अगाडि नै भर्ना अभियान शुरू गरिसकेका छन् भने कतिपयले आजदेखि नै नियमित कक्षा सञ्चालन गर्ने तयारी गरेका छन्। यस अवस्थाले अभिभावक, विद्यार्थी र विद्यालय व्यवस्थापनबीच अन्योल बढाएको छ।
विगतका वर्षहरूमा वैशाख २ गतेदेखि नयाँ शैक्षिक सत्र शुरू हुने प्रचलन रहे पनि यस वर्ष ढिलो गरी सत्र शुरू गरिएको हो। केन्द्र र स्थानीय तहबीच समन्वय अभाव तथा फरक–फरक कार्यान्वयनले शिक्षा क्षेत्रमा असहजता सिर्जना गरेको सरोकारवालाहरू बताउँछन्।
शिक्षा क्षेत्रमा दीर्घकालीन सुधारका लागि नीति निर्माण र कार्यान्वयनबीच स्पष्ट समन्वय आवश्यक रहेको विज्ञहरूको धारणा छ।