शनिवार, बैशाख २६ २०८३
धनकुटा, वैशाख २३ । धनकुटाको महालक्ष्मी नगरपालिकामा कार्यरत शिक्षक तथा कर्मचारीहरूले आइतबार बिदा कार्यान्वयन गर्न माग गर्दै शिक्षा विकास तथा समन्वय इकाई धनकुटामा ज्ञापनपत्र बुझाएका छन् । शिक्षक–कर्मचारीहरूले नेपाल सरकारले २०८२ चैत २२ गते गरेको निर्णयअनुसार २०८२ चैत २३ देखि सरकारी कार्यालय तथा शैक्षिक संस्थामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा लागू गरिएको स्मरण गराउँदै सो निर्णय कार्यान्वयनमा एकरूपता कायम गर्न माग गरेका हुन् ।
ज्ञापनपत्रमा महालक्ष्मी नगरपालिकाले पाठ्यभार पूरा गर्न कठिन हुने कारण देखाउँदै आइतबार पनि विद्यालय सञ्चालन गर्न दिएको निर्देशनप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
शिक्षक–कर्मचारीहरूले नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा संघीय कानुनअनुसार स्थानीय तहलाई नेपाल सरकारले दिएको सार्वजनिक बिदा कटौती गर्ने अधिकार नरहेको जिकिर गरेका छन् ।
उनीहरूले सरकारले दुई दिने सार्वजनिक बिदा लागू गर्दा वर्षे तथा हिउँदे बिदाबाट समायोजन गरी कार्यतालिका बनाउने तयारी गरिरहेको अवस्थामा आइतबार पनि विद्यालय सञ्चालन गरिँदा शिक्षक–कर्मचारी सार्वजनिक बिदाबाट वञ्चित हुने बताएका छन् । साथै, अन्य सरकारी निकाय बन्द हुँदा विद्यालय मात्र सञ्चालन हुनु व्यवहारिक नदेखिने उनीहरूको भनाइ छ ।
ज्ञापनपत्रमार्फत शिक्षक तथा कर्मचारीहरूले संविधान, कानुन र सरकारको नीति–निर्देशनअनुसार काम गर्न आफूहरू प्रतिबद्ध रहेको उल्लेख गर्दै आइतबार विद्यालय बन्द हुने व्यवस्था मिलाउन माग गरेका छन् ।
ज्ञापनपत्रको बोधार्थ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा विकास निर्देशनालय धनकुटा तथा महालक्ष्मी नगरपालिका जितपुर धनकुटालाई समेत दिइएको छ ।
