बिहिवार, बैशाख ३१ २०८३
टोखा, ३१ वैशाख – टोखा बजारस्थित लक्ष्मीपुर इङ्लिस सेकेण्डरि स्कुलले एसइई २०८२ को नतिजामा नगरकै उत्कृष्ट उपलब्धि हासिल गर्दै २२ जना विद्यार्थीलाई भव्य बिदाइ कार्यक्रम गरेको छ । विद्यालयले सार्वजनिक गरेको नतिजाअनुसार २२ विद्यार्थीमध्ये १ जनाले ४ जिपीए, १० जनाले A+, ९ जनाले A र २ जनाले B+ ल्याएका छन् । यो नतिजालाई टोखाको ऐतिहासिक सफलताका रूपमा मूल्याङ्कन गरिएको छ ।

पहिलो चरणमा बिदाई कार्यक्रममा लक्ष्मीपुर इङ्लिस स्कुल इन्चार्ज सुनिता डंगोलले टिका लगाइदिए भने प्रिन्सिपल राजेश श्रेष्ठले फूलमाला, सहायक प्रिन्सिपल हरिबहादुर श्रेष्ठले खादा ओढाएका थिए।
दोस्रो चरणमा धिमे बाजासहित टोखा नगर परिक्रमा गरियो, जसमा विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता थियो ।

तेस्रो चरणको औपचारिक कार्यक्रममा प्रमुख अतिथि टोखा नगरपालिकाका पूर्व शिक्षा शाखा प्रमुख बाबुराम गौतमले पानसमा बत्ती बालेर उद्घाटन गरे । विशेष अतिथिहरूमा टोखा प्याब्सनका अध्यक्ष अरुण कुमार केसी, टोखा एन प्याब्सनका अध्यक्ष बलदेव भट्ट, कोषाध्यक्ष दीपेन्द्र थापा र निर्मल बाटीका एकेडेमीका प्रिन्सिपल गोविन्द न्यौपानेको उपस्थिति थियो ।

कार्यक्रममा कुमारी नाचसहित विभिन्न सांस्कृतिक प्रस्तुति रहेका थिए । प्रमुख अतिथिले एसइई उत्तीर्ण विद्यार्थीहरूलाई ‘टोकन अफ लभ’ प्रदान गरे भने विशेष अतिथिहरूले शुभकामना मन्तव्य राखे । सोही अवसरमा ४ जिपीए ल्याउने जमुना श्रेष्ठलाई विशेष सम्मान तथा पुरस्कार स्वरूप नगद १५ हजार रुपैयाँ, फूलमाला र खादा प्रदान गरिएको थियो।
यस किसिमको भव्य आयोजनले टोखा क्षेत्रमा शैक्षिक उपलब्धिलाई सामूहिक उत्सवका रूपमा मनाउने परम्परालाई थप मजबुत बनाएको छ ।