सोमवार, जेठ ११ २०८३
भोजपुर । शिक्षामा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यसहित भोजपुर जिल्लाको रामप्रसाद राई गाउँपालिकाले एसईई २०८२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई विशेष सम्मान गरेको छ। साधारण धारतर्फ गाउँपालिकाभर उत्कृष्ट अंक हासिल गर्ने छात्रा प्रिया राई र छात्र प्रविन तामाङ लाई गाउँपालिकाले जनही एक–एक थान ल्यापटप प्रदान गर्दै सम्मान गरेको हो।

गाउँपालिकाद्वारा आयोजित सम्मान कार्यक्रममा विद्यार्थीहरूको मेहनत, अनुशासन र सफलताको उच्च मूल्यांकन गर्दै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्न शुभकामना व्यक्त गरिएको थियो। गाउँपालिकाको यस कदमलाई ग्रामीण क्षेत्रमा शैक्षिक प्रेरणा अभिवृद्धि गर्ने सकारात्मक प्रयासका रूपमा हेरिएको छ। प्रतिभावान विद्यार्थीलाई सम्मान गर्ने संस्कृतिले अन्य विद्यार्थीमा पनि प्रतिस्पर्धात्मक भावना विकास हुनुका साथै अध्ययनप्रति आकर्षण बढ्ने विश्वास व्यक्त गरिएको छ।
“मेहनतको कदर हुँदा सफलता अझ अर्थपूर्ण बन्छ” भन्ने सन्देशसहित सम्पन्न सम्मान कार्यक्रमले स्थानीय शिक्षा क्षेत्रमा नयाँ उत्साह थपेको सरोकारवालाहरूको भनाइ छ।
शिक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई सम्मान र प्रोत्साहन प्रदान गर्ने यस्ता कार्यक्रमले गुणस्तरीय शिक्षा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।