Oct 02 2026 | २०८३, आश्विन १६ गते

एसइई उत्तरपुस्तिका व्यवस्थापनमा गम्भीर त्रुटि भएको भन्दै नेविसंघको छानबिनको माग

एसइई उत्तरपुस्तिका व्यवस्थापनमा गम्भीर त्रुटि भएको भन्दै नेविसंघको छानबिनको माग

  • 209
    SHARES

  • एसइई उत्तरपुस्तिका व्यवस्थापनमा गम्भीर त्रुटि भएको भन्दै नेविसंघको छानबिनको माग

    काठमाडौं, असार ८ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले माध्यमिक शिक्षा परीक्षा (एसइई) को उत्तरपुस्तिका व्यवस्थापन, नतिजा प्रकाशन तथा पुनर्योग प्रक्रियामा देखिएका गम्भीर त्रुटिहरूप्रति ध्यानाकर्षण भएको जनाउँदै तत्काल छानबिन र प्रणालीगत सुधारको माग गरेको छ।

    नेविसंघले जारी गरेको विज्ञप्तिमा राष्ट्रिय परीक्षा बोर्डले नतिजा छिटो प्रकाशन गर्ने प्रयास गरे पनि पर्याप्त परीक्षण र प्रमाणीकरण नगरी हतारमा नतिजा प्रविष्ट गर्दा हजारौँ विद्यार्थीको वास्तविक मूल्याङ्कन प्रभावित भएको उल्लेख गरिएको छ। पुनर्योगको नतिजामा उल्लेखनीय सङ्ख्यामा विद्यार्थीको ग्रेड परिवर्तन हुनु तथा प्राप्ताङ्क प्रविष्टिमा गम्भीर त्रुटि देखिनुले नतिजा व्यवस्थापन प्रणालीमाथि प्रश्न उठाएको संघको भनाइ छ।

    विज्ञप्तिअनुसार पुनर्योगका लागि आवेदन दिएका करिब एक हजार विद्यार्थीको उत्तरपुस्तिका फेला नपर्दा उनीहरूको नतिजा प्रकाशन हुन नसकेको छ। यसले विद्यार्थीहरूमा मानसिक तनाव सिर्जना गर्नुका साथै कक्षा ११ को भर्ना तथा आगामी शैक्षिक यात्रामा अन्योलता थपेको नेविसंघले जनाएको छ।

    संघले एसइईजस्तो संवेदनशील सार्वजनिक परीक्षामा देखिएका यस्ता कमजोरीले परीक्षा प्रणालीको विश्वसनीयतामाथि नै प्रश्नचिन्ह खडा गरेको उल्लेख गर्दै हराएका उत्तरपुस्तिकाको तत्काल खोजी गरी रोकिएका नतिजा सार्वजनिक गर्न माग गरेको छ।

    त्यसैगरी उत्तरपुस्तिका व्यवस्थापन र प्राप्ताङ्क प्रविष्टिमा लापरबाही गर्ने जिम्मेवार अधिकारीमाथि छानबिन गरी आवश्यक कारबाही गर्न, जनशक्तिलाई प्राविधिक प्रशिक्षण प्रदान गर्न तथा आगामी दिनमा यस्ता समस्या दोहोरिन नदिन डिजिटल प्रणालीलाई थप व्यवस्थित बनाउन पनि नेविसंघले आग्रह गरेको छ।

    प्राविधिक ढिलाइका कारण ग्रेड वृद्धि परीक्षा वा भर्ना प्रक्रियाबाट प्रभावित हुन सक्ने विद्यार्थीका लागि विशेष वैकल्पिक परीक्षा, अतिरिक्त भर्ना अवसर तथा पुनर्योग शुल्क फिर्ता गर्नुपर्ने मागसमेत संघले अघि सारेको छ। विद्यार्थीको भविष्यसँग कुनै पनि प्रकारको खेलवाड स्वीकार्य नहुने स्पष्ट पार्दै नेविसंघले आफ्ना मागप्रति बेवास्ता गरिए विद्यार्थी हितको रक्षाका लागि देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिएको छ।

    FB_IMG_1782042880308.jpgFB_IMG_1782042881797.jpg

    images
    सोमवार, आषाढ ८ २०८३०९:४८:०८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार