मंगलवार, आषाढ १६ २०८३
काठमाडौं, असार १५ – एडमार्क एकेडेमीले नयाँ शैक्षिक सत्रका लागि भर्ना भएका विद्यार्थीलाई स्वागत तथा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई सम्मानसहित बिदाइ गरेको छ। शनिवार नेपाल पुलिस क्लब, प्रदर्शनीमार्गमा आयोजित कार्यक्रममा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई मायाको चिनो (टोकन अफ लभ) प्रदान गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिएको थियो।

व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम अधिकारीको सभापतित्वमा प्राचार्य शिवप्रसाद अधिकारी, सह–प्राचार्य प्रकाश लम्साल, संयोजक बलराम गैरे, परीक्षा संयोजक माधवप्रसाद उप्रेती, प्रशासन प्रमुख दिपक अधिकारीलगायत शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको शुभारम्भ अध्यक्ष पुरुषोत्तम अधिकारी र प्राचार्य शिवप्रसाद अधिकारीले संयुक्त रूपमा दीप प्रज्वलन गरी गरेका थिए।

उक्त कार्यक्रममा विद्यार्थी प्रतिनिधि एस्टेरिया लामाले स्वागत मन्तव्य व्यक्त गर्दै नयाँ विद्यार्थीलाई एकेडेमी परिवारमा हार्दिक स्वागत गरिन्। तत्पश्चात प्राचार्य शिवप्रसाद अधिकारीले नयाँ विद्यार्थीलाई स्वागत गर्दै विद्यालयले गुणस्तरीय शिक्षा, अनुशासन, नैतिक मूल्य र सिर्जनशीलताको वातावरणमा उनीहरूको सर्वाङ्गीण विकासका लागि निरन्तर प्रयास गरिरहेको बताउनुभयो । उहाँले नवप्रवेशी विद्यार्थीलाई आत्मविश्वासका साथ अध्ययनमा समर्पित हुन आग्रह गर्दै कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई जीवनको नयाँ यात्रामा सफलता, उज्ज्वल भविष्य र निरन्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रममा कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीलाई औपचारिक रूपमा स्वागत गरिएको थियो भने कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई मायाको चिनो प्रदान गर्दै सम्मानपूर्वक बिदाइ गरिएको थियो।
कार्यक्रमको अन्त्यमा अध्यक्ष पुरुषोत्तम अधिकारीले नयाँ विद्यार्थीलाई गुणस्तरीय शिक्षा, अनुशासन, नैतिक मूल्य र सिर्जनशीलताको वातावरणमा अध्ययन गर्ने अवसर प्रदान गर्न एकेडेमी प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले नवप्रवेशी विद्यार्थीलाई आत्मविश्वासका साथ अध्ययनमा समर्पित हुन आग्रह गर्दै कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई जीवनको नयाँ यात्रामा सफलता हासिल गर्न शुभकामना व्यक्त गर्दै औपचारिक कार्यक्रमको समापन गर्नुभयो ।

स्वागत तथा बिदाई समारोहको विशेष आकर्षण कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूले प्रस्तुत गरेका सांस्कृतिक कार्यक्रम बने। नेपाली सांस्कृतिक पहिचान झल्किने नृत्य, गायन तथा विविध सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप उल्लासमय र स्मरणीय बनाएको थियो।






