Aug 13 2026 | २०८३, श्रावण २८ गते

निर्वाचन अधिकृतमाथिको दुर्व्यवहारको प्रधानाध्यापकहरूद्वारा भर्त्सना, दोषीमाथि कडा कारबाहीको माग

निर्वाचन अधिकृतमाथिको दुर्व्यवहारको प्रधानाध्यापकहरूद्वारा भर्त्सना, दोषीमाथि कडा कारबाहीको माग

  • 182
    SHARES

  • निर्वाचन अधिकृतमाथिको दुर्व्यवहारको प्रधानाध्यापकहरूद्वारा भर्त्सना, दोषीमाथि कडा कारबाहीको माग

    दाङ, असार २८। पद्मोदय पब्लिक नमूना माध्यमिक विद्यालय, घोराही–१५ मा विद्यालय व्यवस्थापन समिति गठनका लागि खटिएका निर्वाचन अधिकृतमाथि भएको दुर्व्यवहारको घोराही उपमहानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले कडा शब्दमा भर्त्सना गरेका छन्।

    प्रधानाध्यापकहरूले संयुक्त विज्ञप्ति जारी गर्दै असार २७ गते विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियाका लागि निर्वाचन अधिकृतका रूपमा खटिएका घोराही उपमहानगरपालिकाको सामाजिक विकास महाशाखाका अधिकृत अजय बोहोरामाथि सार्वजनिक स्थलमै भएको अभद्र तथा अमानवीय व्यवहारप्रति गम्भीर आपत्ति जनाएका हुन्।

    विज्ञप्तिअनुसार घोराही उपमहानगरपालिका–१५ का निर्वाचित वडा सदस्य लेखराज बुढाथोकीले निर्वाचन अधिकृत बोहोरालाई सार्वजनिक रूपमा अपमान गर्ने, कालो मोविल दल्ने तथा बोतलले आक्रमण गर्ने प्रयासजस्ता कार्य गरेको आरोप लगाइएको छ।

    प्रधानाध्यापकहरूले विद्यालयलाई शान्ति क्षेत्रका रूपमा घोषणा गरिएको संवेदनशील स्थल भएको स्मरण गराउँदै सरकारी जिम्मेवारीमा खटिएका राष्ट्रसेवक कर्मचारीमाथि भएको यस्तो घटनाले विद्यालयको मर्यादा र कानुनी शासनमाथि गम्भीर प्रश्न उठाएको बताएका छन्।

    उनीहरूले घटनामा संलग्न व्यक्तिमाथि कानुनबमोजिम हदैसम्मको कारबाही गर्न सम्बन्धित निकायसँग माग गर्दै आगामी दिनमा विद्यालय तथा विद्यालयसँग सम्बन्धित सबै गतिविधिमा पूर्ण शान्ति–सुरक्षा कायम गर्न, शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकको सुरक्षाको प्रत्याभूति गराउन सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

    उक्त विज्ञप्तिमा घोराही उपमहानगरपालिका अन्तर्गतका विभिन्न सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको हस्ताक्षर रहेको छ। उनीहरूले विद्यालयजस्तो शान्ति क्षेत्रभित्र हुने यस्ता गतिविधिले शिक्षा क्षेत्रमा नकारात्मक सन्देश प्रवाह गर्ने भएकाले यस्ता घटना दोहोरिन नदिन प्रभावकारी कदम चाल्न समेत आग्रह गरेका छन्।

    1783858954538.jpg

    images
    सोमवार, आषाढ २९ २०८३०८:१०:५४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार