शुक्रवार, श्रावण १ २०८३
काठमाडौं । प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘मास्टर्नी’ को प्रचारप्रसारका क्रममा सार्वजनिक गरिएको गीतप्रति महिला शिक्षक समाज ले गम्भीर आपत्ति जनाउँदै उक्त गीत तत्काल हटाउन र चलचित्रमा प्रयोग नगर्न सम्बन्धित पक्षसँग आग्रह गरेको छ।
समाजले जारी गरेको विज्ञप्तिमा भदौ ५ गते प्रदर्शनका लागि विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको चलचित्रको प्रवर्द्धनात्मक गीतमा महिला शिक्षकलाई लक्षित गरी अमर्यादित शब्द, ध्वन्यात्मक आवाज तथा गलत आशय व्यक्त गरिएको उल्लेख गरिएको छ। यस्तो सामग्रीले सम्पूर्ण शिक्षक समुदाय, विशेषगरी महिला शिक्षक तथा शिक्षण पेशाको गरिमा र सम्मानमा गम्भीर आघात पुगेको समाजको ठहर छ।
महिला शिक्षक समाजले उक्त गीत तत्काल बन्द गर्न, सामाजिक सञ्जाल तथा विभिन्न मिडियाबाट हटाउन र चलचित्रमा समेत प्रयोग नगर्न चलचित्र निर्माण पक्षसँग माग गरेको छ।
विज्ञप्तिमा आपत्तिजनक गीतलाई निरन्तरता दिइए त्यसबाट उत्पन्न हुन सक्ने असहज परिस्थितिको सम्पूर्ण जिम्मेवारी चलचित्र निर्माता तथा सम्बन्धित कलाकारहरूले नै वहन गर्नुपर्ने चेतावनी दिइएको छ।
साथै, शिक्षकको सम्मान र सामाजिक मर्यादाको संरक्षणका लागि महिला शिक्षक समाज आवश्यक परे कुनै पनि कदम चाल्न पछि नपर्ने स्पष्ट पारेको छ। “शिक्षकको सम्मान गरौँ, सामाजिक मर्यादा जोगाऔँ” भन्ने मूल सन्देशसहित जारी विज्ञप्तिमा शिक्षण पेशाको गरिमा कायम राख्न सबै सरोकारवालालाई संवेदनशील बन्न पनि आग्रह गरिएको छ।
उक्त विज्ञप्तिमा महिला शिक्षक समाजका
अध्यक्ष डा. जानुका नेपाल र सचीव गिता भट्टराईको हस्ताक्षर रहेको छ।