बुधवार, श्रावण १३ २०८३
काठमाडौं, साउन १३ । चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ६ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपैयाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बसेको आयोगको २७औँ बैठकले नेपाल सरकारबाट विनियोजित ५ अर्ब ९९ करोड २१ लाख रुपैयाँ र आयोगको आन्तरिक स्रोतबाट ५६ करोड ४ लाख ९८ हजार रुपैयाँ बराबरको कार्यक्रम तथा बजेट अनुमोदन गरेको हो।
बैठकले गत आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म आन्तरिक स्रोतमा रहेको ९९ करोड ८५ लाख ९६ हजार २६७ रुपैयाँ बचत तथा चालु आवमा विभिन्न आन्तरिक स्रोतबाट प्राप्त हुने अनुमानित ३५ करोड रुपैयाँ समेत गरी कुल १ अर्ब ३४ करोड ८५ लाख ९६ हजार २६७ रुपैयाँ मध्ये चालु आवका लागि ५६ करोड ४ लाख ९८ हजार रुपैयाँ खर्च गर्ने निर्णय गरेको छ।
आयोगका अनुसार आन्तरिक स्रोतबाट विनियोजित बजेटमध्ये ४७ करोड ४२ लाख ९८ हजार रुपैयाँ चालु खर्च तथा ८ करोड ६२ लाख रुपैयाँ पुँजीगत खर्चका लागि छुट्याइएको छ।
बैठकमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा. डा. देवेन्द्रबहादुर खत्री तथा सदस्यसचिव एवं सहसचिव बसन्तप्रसाद कोइरालालगायतको सहभागिता रहेको थियो।