बिहिवार, श्रावण १४ २०८३
काठमाडौं । पूर्वी तराईका सुनसरी, सिराहा लगायतका जिल्लामा हालै भएका हिंसात्मक घटनाप्रति १० वटा विद्यार्थी सङ्गठनले गहिरो दुःख र चिन्ता व्यक्त गर्दै गृहमन्त्री सुधन गुरुङले नैतिक जिम्मेवारी स्वीकार गरी तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्।
संयुक्त प्रेस वक्तव्य जारी गर्दै विद्यार्थी सङ्गठनहरूले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
वक्तव्यमा नेपाल विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिबीच आपसी सम्मान, सहिष्णुता र सद्भावका साथ अघि बढ्दै आएको उल्लेख गर्दै हालका घटनाले धार्मिक सहिष्णुता र सामाजिक सद्भावमा गम्भीर असर पुर्याएको जनाइएको छ। हिंसा र द्वन्द्वले देशको वर्तमान स्थिरता तथा भविष्यको समृद्धिमा नकारात्मक प्रभाव पार्ने भएकाले सबै पक्षले संयमता अपनाउनुपर्ने विद्यार्थी सङ्गठनहरूको भनाइ छ।
विद्यार्थी सङ्गठनहरूले घटनाको प्रारम्भिक चरणमै सरकार र प्रशासनले आवश्यक संवेदनशीलता तथा प्रभावकारी कदम चाल्न नसक्दा परिस्थिति थप जटिल बनेको आरोप लगाएका छन्। सुरक्षा व्यवस्थापन र त्यसपछिका गतिविधिले पनि तनाव बढाएको उल्लेख गर्दै प्रधानमन्त्री र गृहमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्।
वक्तव्यमा देश गम्भीर संकटमा रहेका बेला प्रभावकारी नेतृत्व दिन असफल भएको भन्दै गृहमन्त्रीले घटनाको नैतिक जिम्मेवारी स्वीकार गरी तत्काल पदबाट राजीनामा दिनुपर्ने माग गरिएको छ। साथै, प्रभावित क्षेत्रमा प्रभावकारी सुरक्षा व्यवस्था कायम गरी शान्ति पुनःस्थापना गर्न सरकारसँग आग्रह गरिएको छ।
यसैबीच, संयुक्त विद्यार्थी सङ्गठनले साउन १५ गते शुक्रबार दिउँसो ३ बजे काठमाडौंको माइतीघर मण्डलामा ‘सद्भाव र्याली’ आयोजना गर्ने जनाएको छ। उक्त कार्यक्रममा सहभागी भई राष्ट्रिय एकता, सामाजिक सद्भाव र शान्तिको पक्षमा ऐक्यबद्धता जनाउन विद्यार्थी, नागरिक समाज तथा आम नागरिकलाई आह्वान गरिएको छ।
