आइतवार, श्रावण १७ २०८३
काठमाडौं, साउन १७ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) काठमाडौं जिल्ला र एक्सन इन्टरटेनमेन्टको संयुक्त आयोजनामा हुने ‘प्याब्सन मिस लिटिल आइडल–२०२५’ को १५औँ संस्करण आगामी भदौ ६ गतेदेखि सुरु हुने भएको छ। प्रतियोगिताको तयारी तथा कार्यक्रमबारे आइतबार बागबजारस्थित होटेल हार्दिकमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो।
आयोजकका अनुसार शैक्षिक पाठ्यक्रममा समेटिन नसकेका तर बदलिँदो समयअनुसार आवश्यक ज्ञान, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, नेतृत्व क्षमता विकास तथा छात्राहरूमा निहित प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन हुँदै आएको हो।
पत्रकार सम्मेलनमा प्याब्सन काठमाडौंका अध्यक्ष नवराज भट्टले विद्यालयको औपचारिक शिक्षासँगै विद्यार्थीमा सिर्जनशीलता, नेतृत्व क्षमता र आत्मविश्वास विकास गर्न यस्ता कार्यक्रम प्रभावकारी बन्दै गएको बताउनुभयो। उहाँले प्रतियोगिताले छात्राहरूलाई समयसापेक्ष ज्ञान र व्यवहारिक सीप सिक्ने अवसर प्रदान गरिरहेको उल्लेख गर्नुभयो।
प्याब्सन काठमाडौंकी संस्थापक तथा कार्यक्रम सल्लाहकार रीता राई दाहालले विगत १५ वर्षको अनुभव, विद्यालय, अभिभावक तथा सहभागीबाट प्राप्त सुझावका आधारमा प्रतियोगितालाई समयअनुकूल परिमार्जन गर्दै थप प्रभावकारी बनाइएको जानकारी दिनुभयो। प्रतियोगिता सौन्दर्य वा उपाधिमा मात्र सीमित नभई बालिकाको समग्र व्यक्तित्व विकास गर्ने संस्थापक राइले बताउनुभयो।
उहाँका अनुसार प्रतियोगिताले बालिकाहरूमा आत्मविश्वास, नेतृत्व क्षमता, अनुशासन, सञ्चार सीप, सार्वजनिक रूपमा आफ्नो विचार प्रस्तुत गर्ने क्षमता तथा सिर्जनशील सोचको विकास गर्छ। प्रशिक्षणका क्रममा उनीहरूले टीमवर्क, समय व्यवस्थापन, सामाजिक व्यवहार, सकारात्मक सोच र जिम्मेवारीबोधसमेत सिक्ने अवसर पाउँछन्।
"आजको प्रतिस्पर्धी युगमा पाठ्यपुस्तकको ज्ञान मात्र पर्याप्त हुँदैन। बालबालिकामा लुकेका प्रतिभा पहिचान गरी उनीहरूलाई आत्मविश्वासी, सक्षम र जिम्मेवार नागरिकका रूपमा विकास गर्न यस्ता कार्यक्रम आवश्यक छन्," उहाँले भन्नुभयो।
उहाँले प्रतियोगितामा सहभागी अधिकांश बालिकामा प्रशिक्षणपछि बोल्ने शैली, आत्मविश्वास, प्रस्तुतीकरण क्षमता र नेतृत्वदायी व्यवहारमा उल्लेखनीय सकारात्मक परिवर्तन देखिएको अनुभव सुनाउँदै अभिभावकलाई आफ्ना छोरीहरूको प्रतिभा उजागर गर्ने अवसरका रूपमा यस प्रतियोगितालाई लिन आग्रह गर्नुभयो।
पत्रकार सम्मेलनमा बागमती प्रदेशका वरिष्ठ उपाध्यक्ष सानुराजा कार्की , कार्यक्रम संयोजक सूर्य भण्डारी, उपाध्यक्ष धन पुन, सचिव कृष्ण भण्डारी, प्याब्सन नागार्जुनका अध्यक्ष वासुदेव घिमिरे, प्याब्सन कीर्तिपुरका अध्यक्ष रवि भण्डारी, प्याब्सन टोखाका अध्यक्ष अरुण केसी तथा जिल्ला सहसचिव शिव अर्याललगायतको उपस्थिति रहेको थियो।
प्रतियोगितामा विद्यालयमा अध्ययनरत कक्षा ४ देखि ८ सम्मका ८ देखि १३ वर्ष उमेर समूहका छात्राहरूले मात्र सहभागिता जनाउन पाउनेछन्। सहभागी हुन अभिभावकको अनुमति अनिवार्य गरिएको छ भने आवेदन शुल्क १०० रुपैयाँ तोकिएको छ।
आवेदनमध्येबाट छनोट भएका प्रतियोगीलाई भदौ ६ देखि २६ गतेसम्म जमलस्थित सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा तीन साते प्रशिक्षण दिइनेछ। प्रशिक्षणमा व्यक्तित्व विकास, नेतृत्व क्षमता, अनुशासन, आत्मविश्वास, सञ्चारमाध्यमसँग प्रस्तुत हुने कला, सार्वजनिक वक्तृत्व, प्रतिभा प्रस्फुटनलगायतका विषय समावेश गरिनेछन्। साथै विभिन्न विषयका विज्ञ, सेलिब्रेटी, पूर्वविजेता तथा ट्राफिक प्रहरीसँग अन्तरक्रिया, प्रेरणामूलक कक्षा, खेलकुद र भ्रमण कार्यक्रमसमेत सञ्चालन गरिनेछ।
प्रशिक्षणका क्रममा प्रतियोगीलाई फोटोसुट, मेकअप, प्रशिक्षण टिसर्ट तथा अन्य आवश्यक सामग्री उपलब्ध गराइनेछ। अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका प्रतियोगीले व्यवस्थापन शुल्कस्वरूप १५ हजार रुपैयाँ बुझाउनुपर्ने आयोजकले जनाएको छ।
प्रतियोगिताको ग्रान्ड फिनाले भदौ २७ गते राष्ट्रिय नाचघर, जमलमा आयोजना हुनेछ। विजेताले ५० हजार रुपैयाँ, ताज, ट्रफी, प्रमाणपत्र तथा विभिन्न उपहार प्राप्त गर्नेछन्। फस्ट रनरअप र सेकेन्ड रनरअपले क्रमशः २५ हजार र १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै ‘मिस पब्लिक च्वाइस’ र ‘मिस ट्यालेन्ट’ विजेतालाई जनही १५ हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र र उपहार प्रदान गरिनेछ। सहभागी सबै छात्रालाई विभिन्न विधामा सम्मान गरिने आयोजकले जनाएको छ।
सन् २००९ देखि सञ्चालन हुँदै आएको ‘प्याब्सन मिस लिटिल आइडल’ विद्यालय शिक्षासँगै छात्राहरूको व्यक्तित्व विकास, आत्मविश्वास वृद्धि र नेतृत्व क्षमता अभिवृद्धिका लागि प्रभावकारी प्लेटफर्मका रूपमा स्थापित हुँदै आएको आयोजकको दाबी छ।