Aug 13 2026 | २०८३, श्रावण २८ गते

प्याब्सन काठमाडौंको तीज नृत्य प्रतियोगिता भदौ २४ मा, ७१ विद्यालयका छात्राले प्रतिस्पर्धा गर्ने

प्याब्सन काठमाडौंको तीज नृत्य प्रतियोगिता भदौ २४ मा, ७१ विद्यालयका छात्राले प्रतिस्पर्धा गर्ने

  • 339
    SHARES

  • प्याब्सन काठमाडौंको तीज नृत्य प्रतियोगिता भदौ २४ मा, ७१ विद्यालयका छात्राले प्रतिस्पर्धा गर्ने

    काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) काठमाडौंले हरितालिका तीजको अवसरमा अन्तर–विद्यालय तीज विशेष नृत्य प्रतियोगिता–२०८३ आयोजना गर्ने भएको छ। प्रतियोगिताको तेह्रौँ संस्करण आगामी भदौ २४ गते बुधबार काठमाडौंको जमलस्थित सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)मा आयोजना हुने भएको हो।

    प्याब्सन काठमाडौंका अनुसार प्रतियोगितामा काठमाडौं जिल्लाका विभिन्न पालिकाबाट छनोट भएका ७१ विद्यालयका छात्राहरू सहभागी हुनेछन्। नेपाली संस्कृति र तीजको मौलिक परम्परालाई विद्यालय तहका विद्यार्थीमाझ प्रवर्द्धन गर्नुका साथै उनीहरूको कला तथा नृत्य प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।

    प्रतियोगितामा कक्षा १० सम्म अध्ययनरत छात्राहरूलाई मात्र सहभागी गराउन पाइनेछ। प्रत्येक विद्यालयको नृत्य समूहमा न्यूनतम १२ जना र अधिकतम १६ जना छात्रा हुनुपर्नेछ। अन्य विद्यालयका विद्यार्थी वा कक्षा १० भन्दा माथिका विद्यार्थी सहभागी गराइएको पाइएमा सम्बन्धित समूहको प्रस्तुति अयोग्य ठहरिने आयोजकले जनाएको छ।

    प्रतियोगितामा एक विद्यालय–एक नृत्यका आधारमा ७१ वटा नृत्य समावेश गरिनेछ। पालिका तहमा आयोजना हुने तीज नृत्य प्रतियोगिताबाट छनोट भएका विद्यालयले जिल्ला तहको प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन्।

    नेपाली संस्कृति झल्किने तीज गीतमै प्रस्तुति प्याब्सन काठमाडौंले प्रतियोगितामा प्रस्तुत गरिने गीत नेपाली संस्कृति झल्किने तीजसम्बन्धी गीत मात्र हुनुपर्ने जनाएको छ। रिमिक्स वा एकभन्दा बढी गीत मिसाएर तयार गरिएको गीतमा नृत्य गर्न पाइने छैन। प्रत्येक समूहले अधिकतम ५ मिनेटसम्म प्रस्तुति दिन पाउनेछ। निर्धारित समयभन्दा बढी प्रस्तुति दिएमा अतिरिक्त समयको मूल्याङ्कन नगरिने व्यवस्था गरिएको छ।

    नृत्यको मूल्याङ्कनमा प्रस्तुतीकरण (मौलिकता), कोरियोग्राफी, ताल, स्टेज कभर, श्रृंगार, भेषभूषा तथा हाउभाउलाई आधार बनाइनेछ। प्रस्तुतीकरण र कोरियोग्राफीका लागि २०–२० अंक, तालका लागि २० अंक तथा अन्य विधामा १०–१० अंकका आधारमा मूल्याङ्कन गरिनेछ।

    प्रतियोगितामा मञ्च सजावट तथा कुनै पनि ‘प्रोप्स’ प्रयोग गर्न नपाइने र नृत्यका क्रममा अभिनय तथा संवादसमेत निषेध गरिएको छ। विद्यार्थीको सुरक्षालाई ध्यानमा राख्दै नृत्यमा प्रयोग हुने चुरा प्लास्टिकको हुनुपर्ने व्यवस्था गरिएको छ।

    प्रथमलाई ३० हजार पुरस्कार

    प्रतियोगितामा प्रथम हुने विद्यालयले ३० हजार रुपैयाँ, द्वितीयले २० हजार र तृतीयले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। चौथो र पाँचौँ हुने विद्यालयलाई ७–७ हजार रुपैयाँ प्रदान गरिनेछ।

    विजेता विद्यालयलाई नगद पुरस्कारसँगै ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ। यस्तै, सान्त्वना स्थान प्राप्त गर्ने थप आठ विद्यालयलाई ट्रफी तथा प्रमाणपत्र दिइनेछ। सहभागी सबै विद्यालय, विद्यार्थी तथा नृत्य निर्देशकलाई समेत सहभागिताको प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

    भदौ १५ सम्म नाम दर्ता गर्नुपर्ने

    पालिका तहबाट छनोट भएका विद्यालयले सम्बन्धित प्याब्सन पालिकाको सिफारिससहित जिल्ला कार्यालयमा नाम दर्ता गर्नुपर्नेछ। विद्यालयले आयोजकले उपलब्ध गराएको फाराम भरी विद्यालयको विवरण प्रमाणित गराएर ७ हजार रुपैयाँ दर्ता शुल्कसहित भदौ १५ गते अपराह्न ४ बजेसम्म प्याब्सन काठमाडौंको कार्यालयमा नाम दर्ता गरिसक्नुपर्नेछ। प्रतियोगितामा प्रस्तुत गरिने गीत भने भदौ १ गतेसम्म पेनड्राइभ वा आयोजकको इमेलमार्फत कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

    प्रतियोगिताको नृत्य क्रम गोलाप्रथाबाट निर्धारण गरिनेछ। कार्यक्रम बिहान ९ बजे सुरु हुने भएकाले सहभागी विद्यार्थीहरू कार्यक्रम सुरु हुनुभन्दा कम्तीमा एक घण्टा अगाडि उपस्थित भइसक्नुपर्नेछ।

    प्याब्सन काठमाडौंले प्रतियोगितामार्फत विद्यार्थीको प्रतिभा प्रस्फुटनसँगै नेपाली संस्कृति र तीजको मौलिक परम्पराको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुग्ने अपेक्षा गरेको छ।

    images
    मंगलवार, श्रावण १९ २०८३१०:००:२७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार