शुक्रवार, श्रावण २२ २०८३
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२), सानोठिमी भक्तपुरले स्वास्थ्य विज्ञानतर्फको पूर्वावश्यक पाठ्यक्रम (Pre-requisite Course) को २०८३ सालको वार्षिक परीक्षाको समयतालिका सार्वजनिक गरेको छ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) वा परिषद्बाट मान्यता प्राप्त संस्थाबाट स्वास्थ्य विज्ञान विषयमा तीन वर्षे प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरी पूर्वावश्यक पाठ्यक्रम अध्ययन गरेका विद्यार्थी परीक्षामा सहभागी हुन पाउनेछन्।
बोर्डका अनुसार परीक्षार्थीले विद्यालयमार्फत २०८३ भदौ ४ गतेभित्र परीक्षा आवेदन फाराम बुझाइसक्नुपर्नेछ। त्यसका लागि प्रतिविद्यार्थी ८०० रुपैयाँ शुल्क तोकिएको छ। उक्त अवधिमा फाराम भर्न छुटेकाले भदौ ११ गतेभित्र दोब्बर अर्थात् १ हजार ६ सय रुपैयाँ विलम्ब शुल्कसहित फाराम बुझाउन सक्नेछन्।
यसअघि रजिस्ट्रेसन आवेदनका लागि साउन २७ गतेसम्म ४०० रुपैयाँ शुल्क तोकिएको छ। उक्त समयभित्र छुटेकाले भदौ ३ गतेसम्म ८०० रुपैयाँ विलम्ब शुल्कसहित रजिस्ट्रेसन फाराम बुझाउन सक्ने बोर्डले जनाएको छ।
यस्तो छ परीक्षा तालिका
परीक्षा बिहान ७ः३० बजेदेखि ९ः३० बजेसम्म सञ्चालन हुनेछ।
भदौ १४ गते, आइतबार — English (501)
भदौ १५ गते, सोमबार — Nepali (502)
भदौ १६ गते, मंगलबार — Physics (503)
भदौ १७ गते, बुधबार — Chemistry (504)
भदौ १८ गते, बिहीबार — Biology (505)
भदौ २० गते, शनिबार — Mathematics (506)
प्रयोगात्मक परीक्षा सम्बन्धित विद्यालयले सञ्चालन गरी भदौ १२ गतेभित्र बोर्डका सम्बन्धित कार्यालयमा प्राप्ताङ्क उपलब्ध गराउनुपर्नेछ। परीक्षा केन्द्रसम्बन्धी सूचना भने पछि प्रकाशित गरिने बोर्डले जनाएको छ।