शुक्रवार, श्रावण २२ २०८३
बिर्तामोड । शिक्षा, प्रविधि, नवप्रवर्तन र स्वस्थ जीवनशैलीलाई एउटै अभियानमा जोड्दै ह्वाइटहाउस कलेज अफ बिजनेस एण्ड टेक्नोलोजी, बिर्तामोडले ह्याकाथन र रन फेस्ट आयोजना गर्दैछ।
कलेजले आयोजना गरेको राष्ट्रियस्तरको ह्याकाथनमा देशभरबाट १४० भन्दा बढी विद्यार्थी सहभागी भएका छन्। आधुनिक प्रविधि, सिर्जनशील सोच, समस्या समाधान तथा नवप्रवर्तनमा विद्यार्थीको क्षमता उजागर गर्ने उद्देश्यले आयोजित ह्याकाथन तीन दिनदेखि सञ्चालन भइरहेको हो।

ह्याकाथनमा सहभागी विद्यार्थीले अनुभवी प्रशिक्षकको मार्गदर्शनमा ट्रेनिङ तथा बुट क्याम्प मार्फत प्रविधिको प्रयोग, समस्या पहिचान तथा समाधान, टोलीगत कार्य र सिर्जनात्मक सोचका विषयमा आफ्नो क्षमता अभिवृद्धि गरिरहेका छन्।
ह्याकाथनको अन्तिम प्रतिस्पर्धा शनिबार र आइतबार हुने आयोजकले जनाएको छ। प्रतियोगितामा उत्कृष्ट हुने पहिलो टोलीले ५० हजार रुपैयाँ र दोस्रो टोलीले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। सहभागी सबै टोलीलाई सहभागिताको प्रमाणपत्रसमेत प्रदान गरिनेछ।
उत्कृष्ट १० विद्यार्थीलाई छात्रवृत्ति
ह्याकाथनको प्रतिस्पर्धाभन्दा पनि विद्यार्थीका लागि दीर्घकालीन अवसर सिर्जना गर्ने पक्षलाई कलेजले प्राथमिकतामा राखेको छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने १० जना विद्यार्थीलाई छात्रवृत्तिसहित उच्च शिक्षा अध्ययनको अवसर प्रदान गरिने भएको छ।
उनीहरूले हिमालयन ह्वाइटहाउस कलेजमा सञ्चालित काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त चारवर्षे Bachelor in Information Technology (BIT) तथा Bachelor of Technology in Education (Information Technology) कार्यक्रममा छात्रवृत्तिसहित अध्ययन गर्न पाउनेछन्।
कलेजका अनुसार छात्रवृत्तिसँगै विद्यार्थीले विभिन्न शैक्षिक तथा संस्थागत सुविधासमेत प्राप्त गर्नेछन्। यसले ह्याकाथनलाई केवल प्रतिस्पर्धामा सीमित नराखी प्रतिभाशाली विद्यार्थीलाई उच्च शिक्षासँग जोड्ने माध्यमका रूपमा विकास गर्ने उद्देश्य लिएको देखिन्छ।
‘डिग्री मात्र होइन, सीप र नवप्रवर्तनमा जोड’
ह्वाइटहाउस एजुकेसन फाउन्डेसनका अध्यक्ष युवराज शर्माले अहिलेको शिक्षा केवल परीक्षा उत्तीर्ण गर्ने माध्यममा सीमित हुन नहुने बताए। उनका अनुसार विद्यार्थीलाई सीप, नेतृत्व, अनुसन्धान, नवप्रवर्तन, उद्यमशीलता र कृत्रिम बुद्धिमत्ता (AI) लगायतका क्षेत्रमा सक्षम बनाउने शिक्षाको आवश्यकता छ।
“अबको शिक्षा जीवन निर्माण गर्ने प्रक्रिया बन्नुपर्छ,” भन्ने मान्यताका साथ कलेजले व्यावहारिक तथा प्रविधिमैत्री शिक्षालाई प्राथमिकता दिएको फाउन्डेसनको भनाइ छ। पूर्वी नेपालकै प्रमुख शैक्षिक, आर्थिक तथा व्यावसायिक केन्द्रका रूपमा विकास भइरहेको बिर्तामोडबाट प्रविधि र नवप्रवर्तनमा सक्षम जनशक्ति उत्पादन गर्ने लक्ष्यसमेत कलेजले लिएको जनाएको छ।
शनिबार बिहान रन फेस्ट
ह्याकाथनसँगै कलेजले ‘ह्वाइटहाउस रन फेस्ट–२०२६’ पनि आयोजना गर्दैछ। स्वस्थ जीवनशैली, अनुशासन, सकारात्मक सोच तथा सामाजिक एकताको सन्देश दिने उद्देश्यले शनिबार बिहान ५ः३० बजे रन फेस्ट आयोजना हुन लागेको हो।
रन फेस्टमा बिर्तामोडका विद्यार्थी, अभिभावक, युवा, खेलप्रेमी तथा सर्वसाधारणलाई सहभागी हुन आह्वान गरिएको छ। कलेजका अनुसार शैक्षिक संस्थाको भूमिका कक्षाकोठा र पाठ्यपुस्तकमा मात्र सीमित नराखी विद्यार्थी तथा समुदायलाई स्वस्थ, सिर्जनशील र जिम्मेवार बनाउनुपर्छ भन्ने सन्देश रन फेस्टले दिनेछ।
रन फेस्ट ह्वाइटहाउस कलेजको आयोजनामा बिर्तामोड रन क्लब (BRC) लगायतको सहकार्यमा हुन लागेको हो।
शिक्षासँगै प्रविधि र स्वस्थ जीवनशैली
ह्याकाथन र रन फेस्टलाई एउटै अभियानका रूपमा अघि बढाउँदै कलेजले विद्यार्थीको बौद्धिक क्षमता र शारीरिक स्वास्थ्य दुवैलाई प्राथमिकता दिन खोजेको छ।
एकातिर ह्याकाथनले विद्यार्थीलाई प्रविधि, अनुसन्धान, समस्या समाधान र नवप्रवर्तनतर्फ आकर्षित गर्नेछ भने अर्कोतर्फ रन फेस्टले स्वस्थ जीवनशैली र सामाजिक सहभागिताको सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।
ह्वाइटहाउस एजुकेसन फाउन्डेसनले विगत तीन दशकदेखि नेपालको शिक्षा क्षेत्रमा गुणस्तरीय, व्यावहारिक तथा विश्वस्तरीय शिक्षाको विकासका लागि योगदान दिँदै आएको जनाएको छ।
फाउन्डेसनले पूर्वी नेपालमा पनि उच्च शिक्षाको गुणस्तर विस्तार गर्दै प्रविधि, अनुसन्धान, नवप्रवर्तन तथा उद्यमशीलतामा आधारित शिक्षा विकास गर्ने लक्ष्य लिएको जनाएको छ। कलेजले ह्याकाथन र रन फेस्टलाई ‘ज्ञान, प्रविधि र स्वास्थ्यलाई जोड्ने अभियान’ का रूपमा अघि बढाएको छ।

