शनिवार, श्रावण २३ २०८३
ललितपुर । ललितपुरको ग्वार्कोस्थित एभिएस विद्यालयको प्राङ्गणमा विद्यार्थीको खेल प्रतिभा पहिचान तथा विकास गर्ने उद्देश्यसहित ‘ब्लु बर्ड सुपर लिग’ सुरु भएको छ।
पूर्वसञ्चारमन्त्री जगदीश पोखरेलले एक समारोहबीच लिगको उद्घाटन गरेका हुन्। प्रतियोगितामा क्रिकेट, फुटबल, भलिबल र बास्केटबल गरी चार खेल समावेश गरिएको एभिएस विद्यालयका प्रिन्सिपल दीपकराज जोशीले जानकारी दिए।
जोशीका अनुसार ललितपुर जिल्लाभरिका विद्यार्थीले प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन्। प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यार्थीले निर्धारित फाराम भर्नुपर्नेछ। विद्यार्थीको खेल प्रतिभा पहिचान गरी उनीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले लिग आयोजना गरिएको उनले बताए।
प्रतियोगितामा सहभागी खेलाडीको छनोट सम्बन्धित खेलका क्याप्टेनले गर्ने व्यवस्था गरिएको छ। आयोजक समितिका संयोजक जितेन्द्र श्रेष्ठका अनुसार प्रत्येक खेलका क्याप्टेनले आफ्नो टोलीका खेलाडी छनोट गर्नेछन्। छनोट भएका खेलाडीको जर्सीमा राखिने नाम तथा आवश्यक विवरणसमेत क्याप्टेनले आयोजकलाई उपलब्ध गराउनुपर्नेछ।
‘क्याप्टेनलाई खेलाडी छनोटको जिम्मेवारी दिइएको छ। छनोट भएका खेलाडीको जर्सीमा के नाम वा विवरण राख्ने भन्ने विषयमा पनि क्याप्टेनले आयोजकलाई जानकारी गराउनुपर्नेछ,’ संयोजक श्रेष्ठले बताए। उनका अनुसार प्रतियोगिताको प्राविधिक तयारी एक साताभित्र पूरा गरी आगामी शुक्रबारदेखि खेल सञ्चालन गर्ने तयारी गरिएको छ। प्रतियोगिताको ग्रान्ड फाइनल आगामी मंसिरमा आयोजना गरिनेछ।
उद्घाटन समारोहमा विभिन्न खेलका क्याप्टेनहरूको नामसमेत सार्वजनिक गरिएको थियो। आयोजकका अनुसार क्याप्टेनको नेतृत्वमा टोली निर्माण गरी प्रतियोगिता सञ्चालन गरिनेछ।
कार्यक्रममा ब्लु बर्ड कलेजका प्रिन्सिपल बीएस क्षेत्रीले विद्यार्थीको रुचि, क्षमता र समयको मागअनुसार कलेजले विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको बताए। ब्लु बर्ड कलेजले सुरुआत गरेका कतिपय कार्यक्रम अन्य शैक्षिक संस्थाले समेत अनुकरण गर्दै आएको उल्लेख गर्दै उनले त्यसप्रति आफूहरू गौरवान्वित रहेको बताए।
कार्यक्रमका प्रमुख अतिथि पूर्वसञ्चारमन्त्री पोखरेलले युवा देशको शक्ति भएको बताए। युवाको पहिचान र सफलतासँग देशको पहिचानसमेत जोडिने उल्लेख गर्दै उनले विश्वका चर्चित खेलाडीहरूको उदाहरण प्रस्तुत गरे। उनले खेलकुदले विद्यार्थी तथा युवाको क्षमता, अनुशासन, आत्मविश्वास र नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए। शिक्षासँगै खेलकुदलाई पनि प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए।
आयोजकका अनुसार ‘ब्लु बर्ड सुपर लिग’ले विद्यार्थीमा खेलकुदप्रतिको रुचि बढाउनुका साथै ललितपुर क्षेत्रका प्रतिभाशाली खेलाडी पहिचान र विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। विद्यालय तहमा खेलकुदलाई प्रतिस्पर्धा मात्र नभई प्रतिभा पहिचान, नेतृत्व विकास र व्यक्तित्व निर्माणको माध्यमका रूपमा अघि बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।