शनिवार, श्रावण २३ २०८३
काठमाडौं । नागार्जुन–५ स्थित द एक्सेल पब्लिक सेकेन्डरी स्कुलमा विद्यार्थीहरूले संघीय संसद्को अभ्यास गरेका छन्। विद्यालयले आयोजना गरेको ‘संघीय संसद् प्रतिनिधि सभा नमुना ढाँचा’ कार्यक्रममा विद्यार्थीहरू सभामुख, महासचिव, मर्यादापालक, मन्त्री तथा सांसदको भूमिकामा प्रस्तुत हुँदै संसदीय प्रक्रिया र लोकतान्त्रिक अभ्यासको व्यवहारिक अनुभव लिएका हुन्।
कार्यक्रममा प्रतिनिधि सभाको बैठकको झल्को दिने गरी सभामुखको प्रवेशदेखि बैठक प्रारम्भ, हाजिरी, गणपूरक संख्या, सभामुखका सूचना तथा घोषणा, प्रश्नोत्तर, शून्य समय, नियमापत्ति, विधेयक प्रस्तुत, सैद्धान्तिक छलफल, मन्त्रीको जवाफ, मतदान र निर्णय घोषणासम्मका गतिविधि सञ्चालन गरिएको थियो।

कार्यक्रमको सुरुवात मर्यादापालकद्वारा सभामुखको आगमन घोषणा, सभामुखको आसन ग्रहण तथा महासचिवद्वारा हाजिरीबाट भएको थियो। गणपूरक संख्या पुगेको जानकारीपछि सभामुखले बैठक प्रारम्भ भएको घोषणा गर्दै सदस्यहरूलाई संसदीय मर्यादा र अनुशासन पालना गर्न आग्रह गरेका थिए।
मन्त्रीसँग विद्यार्थी सांसदको प्रश्नोत्तर
नमुना संसद्को प्रश्नोत्तर कार्यक्रममा विद्यार्थी सांसदहरूले गृह, शिक्षा र अर्थमन्त्रीसँग जनसरोकार तथा समसामयिक विषयमा प्रश्न राखेका थिए। सभामुखले संसदीय प्रक्रियाअनुसार प्रश्नोत्तर सञ्चालन गर्दै सांसदहरूलाई प्रश्न छोटो, स्पष्ट र विषयकेन्द्रित बनाउन निर्देशन दिएका थिए।
त्यसपछि सञ्चालन गरिएको शून्य समयमा विद्यार्थी सांसदहरूले सार्वजनिक महत्व, जनसरोकार तथा समसामयिक विषयमा आफ्ना धारणा राखेका थिए। निर्धारित समयभित्र विषय प्रस्तुत गर्दै विद्यार्थीहरूले संसद्मा जनताका आवाज कसरी उठाइन्छ भन्ने अभ्यास गरेका थिए।

कार्यक्रममा विद्यार्थी सांसद अमोल बस्नेतले बैठक सञ्चालनका क्रममा केही सदस्य सभाको अनुमति नलिई बाहिरिन खोजेको विषयमा नियमापत्ति जनाउँदै सभामुखको ध्यानाकर्षण गराएका थिए। सभामुखले नियमापत्ति सम्बोधन गर्दै संसद्को मर्यादा र अनुशासन कायम राख्न सदस्यहरूलाई निर्देशन दिएका थिए।
तीन विधेयकमाथि बहसदेखि मतदानसम्म
नमुना संसद्को मुख्य आकर्षणका रूपमा विद्यार्थीहरूले तीनवटा विधेयकमाथि सैद्धान्तिक छलफल, मन्त्रीको जवाफ र मतदानको अभ्यास गरेका थिए। पहिलो चरणमा ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८३’ प्रस्तुत गरिएको थियो। सूचना तथा सञ्चार मन्त्री निर्मल शाहले विधेयक प्रस्तुत गरेपछि विद्यार्थी सांसदहरूले डिजिटल सुरक्षा, व्यक्तिगत गोपनीयता, साइबर अपराध नियन्त्रण तथा प्रविधिको सुरक्षित र जिम्मेवार प्रयोगका विषयमा धारणा राखेका थिए।

छलफलपछि मन्त्री शाहले सांसदहरूले उठाएका सुझावलाई सकारात्मक रूपमा लिने प्रतिबद्धता व्यक्त गर्दै विधेयक पारित गर्न आग्रह गरेका थिए। मतदानमा विपक्षमा बहुमत मत परेपछि सभामुखले विधेयक संशोधनसहित पुनः छलफलमा ल्याइने घोषणा गरेका थिए। त्यसपछि ‘उपभोक्ता संरक्षण विधेयक, २०८३’ प्रस्तुत गरिएको थियो। विद्यार्थी सांसदहरूले उपभोक्ताको अधिकार, गुणस्तरीय वस्तु तथा सेवा, अनुचित व्यापारिक अभ्यास नियन्त्रण र बजारको पारदर्शितालगायत विषयमा बहस गरेका थिए।
मन्त्रीको जवाफपछि भएको मतदानमा पक्षमा बहुमत मत परेपछि सभामुखले उपभोक्ता संरक्षण विधेयक पारित भएको घोषणा गरेका थिए। त्यस्तै, वन तथा वातावरण मन्त्री प्रिनम वाइबाले ‘राष्ट्रिय जलवायु परिवर्तन विधेयक, २०८३’ प्रस्तुत गरेकी थिइन्। विधेयकमाथिको छलफलमा विद्यार्थी सांसदहरूले जलवायु परिवर्तनका असर न्यूनीकरण, वातावरण संरक्षण, प्राकृतिक स्रोतको दिगो उपयोग तथा भावी पुस्ताका लागि सुरक्षित वातावरण निर्माणका विषय उठाएका थिए।
मन्त्रीको जवाफपछि भएको मतदानमा पक्षमा बहुमत मत परेपछि सभामुखले राष्ट्रिय जलवायु परिवर्तन विधेयक, २०८३ पारित भएको घोषणा गरेका थिए।
विद्यार्थीका लागि संसद् नै बन्यो कक्षाकोठा
नमुना संसद्मा राष्ट्रिय दिगो विकास पार्टी, राष्ट्रिय गणतन्त्र पार्टी, वातावरण संरक्षण मोर्चा, नेपाल सद्भावना पार्टी र राष्ट्रिय ककोज पार्टीलगायत विभिन्न दलको प्रतिनिधित्व गर्दै विद्यार्थी सहभागी भएका थिए।
कार्यक्रमले विद्यार्थीलाई संसद्को संरचना र कार्यप्रणालीबारे जानकारी दिने मात्र नभई विधेयक प्रस्तुत गर्ने, प्रश्न सोध्ने, नियमापत्ति जनाउने, पक्ष–विपक्षमा बहस गर्ने, मन्त्रीको जवाफ सुन्ने, मतदान गर्ने र निर्णयमा पुग्ने प्रक्रियाको प्रत्यक्ष अभ्यास गराएको थियो।
विद्यालयका अनुसार यस्तो गतिविधिले विद्यार्थीमा नेतृत्व क्षमता, सार्वजनिक वक्तृत्व, तर्क तथा विश्लेषण क्षमता, निर्णय क्षमता र लोकतान्त्रिक संस्कार विकास गर्न सहयोग पुर्याउँछ। साथै, बहुमतको निर्णय स्वीकार गर्ने र अल्पमतको विचारलाई सम्मान गर्ने संस्कार विकास गर्नसमेत नमुना संसद्ले महत्वपूर्ण भूमिका खेल्ने विद्यालयको विश्वास छ।
कार्यक्रममा नागार्जुन नगरपालिका शिक्षा विभाग प्रमुख कृष्णबहादुर कुँवरले विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानसँगै व्यवहारिक सिकाइको अवसर दिनुपर्नेमा जोड दिए। नमुना संसद्जस्ता गतिविधिले विद्यार्थीलाई लोकतान्त्रिक प्रणाली, संसदीय अभ्यास, नेतृत्व र जिम्मेवारीबारे प्रत्यक्ष अनुभव दिलाउने भएकाले यस्ता कार्यक्रमलाई शिक्षण सिकाइसँग जोड्दै लैजानुपर्ने उनको धारणा थियो।
उनले विद्यार्थीले भविष्यमा समाज र राज्यका विभिन्न क्षेत्रमा जिम्मेवारी निर्वाह गर्नुपर्ने भएकाले विद्यालय तहदेखि नै नेतृत्व, अनुशासन, संवाद, तर्क र निर्णय गर्ने क्षमताको विकास आवश्यक रहेको बताए।
विद्यालयका प्रिन्सिपल वासुदेव घिमिरेले नमुना संसद् विद्यार्थीलाई केवल संसद्को नक्कल गराउने कार्यक्रम नभई सिकाइलाई व्यवहारसँग जोड्ने शैक्षिक अभ्यास भएको बताए। विद्यार्थीलाई आफूले पढेको विषयलाई व्यवहारमा प्रयोग गर्ने, प्रश्न गर्ने, विचार राख्ने र फरक मतलाई सम्मान गर्ने वातावरण निर्माण गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको उनको भनाइ थियो।

घिमिरेले विद्यालयले विद्यार्थीको शैक्षिक उपलब्धिसँगै उनीहरूको नेतृत्व, सिर्जनशीलता, अभिव्यक्ति क्षमता र सामाजिक उत्तरदायित्व विकासलाई पनि प्राथमिकता दिँदै आएको बताए। नमुना संसद्मा विद्यार्थीको सक्रिय सहभागिताले कक्षाकोठाभन्दा बाहिरको सिकाइलाई थप प्रभावकारी बनाएको उनले उल्लेख गरे।
कार्यक्रममा द एक्सेल पब्लिक सेकेन्डरी स्कुलक ब्यबस्थापन समितिका अध्यक्ष पवित्रा खतिवडा, भाइस प्रिन्सिपल उदित सापकोटा, रविन अधिकारी, उपप्राध्यापक बाबुराम बि.क. तथा निर्णायकद्वय दिपक मरहठ्ठा र प्रकाश आचार्यको सहभागिता रहेको थियो।
कार्यक्रमको अन्त्यमा सभामुखले कार्यसूचीमा रहेका सम्पूर्ण विषय सम्पन्न भएको घोषणा गर्दै सहभागी विद्यार्थी सांसद, मन्त्री तथा कार्यक्रम व्यवस्थापनमा संलग्न सबैलाई धन्यवाद दिए। त्यससँगै बैठक स्थगित गरिएको थियो।

कक्षाकोठामा पढिने लोकतन्त्रलाई संसद्को अभ्यासमार्फत व्यवहारमा उतार्दै एक्सेल पब्लिक स्कुलले विद्यार्थीलाई नागरिक जिम्मेवारी, नेतृत्व र संसदीय संस्कार सिकाउने प्रयास गरेको छ। नमुना संसद् विद्यार्थीको ज्ञानसँगै उनीहरूको आत्मविश्वास, अभिव्यक्ति र निर्णय क्षमताको विकास गर्ने प्रभावकारी शैक्षिक अभ्यासका रूपमा देखिएको छ।
