मंगलवार, श्रावण २६ २०८३
सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाले गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा रिक्त प्रधानाध्यापक पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ।
गाउँपालिकाले शिक्षा नियमावली, २०५९ को दशौँ संशोधन तथा नियम ९३ बमोजिम योग्यता पुगेका स्थायी शिक्षकलाई आवेदन दिन आग्रह गरेको हो। गाउँपालिकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित सम्बन्धित विद्यालयको विद्यालय व्यवस्थापन समितिसमक्ष दरखास्त पेश गर्न भनेको छ।
माध्यमिक तहको प्रधानाध्यापक पदका लागि माध्यमिक तहको स्थायी शिक्षक हुनुपर्नेछ। मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर वा सोसरह उत्तीर्ण गरी शिक्षा शास्त्र विषयमा स्नातक तह उत्तीर्ण गरेको र पाँच वर्ष स्थायी सेवा गरेको शिक्षकले उम्मेदवारी दिन सक्नेछन्। उम्मेदवार इन्द्रावती गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षक हुनुपर्नेछ।
त्यस्तै, आधारभूत तहको प्रधानाध्यापक पदका लागि आधारभूत तहको स्थायी शिक्षक हुनुपर्ने व्यवस्था गरिएको छ। मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक वा सोसरह उत्तीर्ण गरी शिक्षा शास्त्र विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरेको र पाँच वर्ष स्थायी सेवा गरेको शिक्षकले उम्मेदवारी दिन सक्नेछन्।
दरखास्तसँगै निवेदन, न्यूनतम तथा माथिल्लो शैक्षिक योग्यताको प्रमाणपत्रको स्वयम् प्रमाणित प्रतिलिपि, सम्बन्धित तहको स्थायी नियुक्तिपत्रको प्रतिलिपि, तालिमको प्रमाणपत्र, आफूले अध्यापन गरेको विषयमा विद्यार्थी सिकाइ उपलब्धिको सम्बन्धित विद्यालयबाट प्रमाणित प्रति, विद्यालय विकास प्रस्ताव तथा शिक्षण अनुभव खुल्ने सेवा प्रमाणित पत्र पेश गर्नुपर्नेछ।
सम्बन्धित विद्यालयमा सोही तहमा कार्यरत स्थायी शिक्षक नरहेको वा शिक्षा नियमावलीबमोजिम योग्यता पूरा गरेको शिक्षक नभएको अवस्थामा गाउँपालिकाभित्रका अन्य विद्यालयमा कार्यरत स्थायी शिक्षकले समेत आवेदन दिन सक्नेछन्। यस्तो अवस्थामा एकभन्दा बढी विद्यालयमा समेत आवेदन दिन सकिने गाउँपालिकाले जनाएको छ।
दरखास्तको म्याद समाप्त भएपछि सम्बन्धित विद्यालयका विद्यालय व्यवस्थापन समितिले निर्णयसहित प्राप्त दरखास्त, आवश्यक कागजात तथा विद्यालय विकास प्रस्ताव तीन दिनभित्र गाउँपालिकाको शिक्षा शाखामा पेश गर्नुपर्नेछ।

