Oct 02 2026 | २०८३, आश्विन १६ गते

एसइईमा ४ जिपिए ल्याउने विद्यार्थीलाई ललितपुर महानगरद्वारा जनहि २ लाख पुरस्कार

एसइईमा ४ जिपिए ल्याउने विद्यार्थीलाई ललितपुर महानगरद्वारा जनहि २ लाख पुरस्कार

  • 160
    SHARES

  • एसइईमा ४ जिपिए ल्याउने विद्यार्थीलाई ललितपुर महानगरद्वारा जनहि २ लाख पुरस्कार

    ललितपुर । ललितपुर महानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ । महानगरपालिकाले सोमबार आयोजना गरेको कार्यक्रममा एसइईमा ४ जिपिए ल्याउने निजी विद्यालयका ७५ र सामुदायिक विद्यालयका ७ जना विद्यार्थीलाई सम्मानपत्रसहित पुरस्कार प्रदान गरेको हो ।

    महानगरपालिकाका अनुसार निजी विद्यालयतर्फ जेम्स स्कुलका १७, रातो बंगला स्कुलका एक, ओमेगा इन्टरनेसनल स्कुलका पाँच, पाठशाला नेपाल फाउन्डेसनका तीन, आइजे पायनियर स्कुलका दुई, बालविकास सदन माविका पाँच, सुधेस माविका एक, रिजेन्ट प्रेसिडेन्सियल स्कुलका दुई, दीपकुञ्ज सेकेन्डरी इंग्लिस स्कुलका एक, प्याराडाइज माविका एक, त्रिलोचन एकेडेमीका एक, नाइटिंगेल इन्टरनेसनल स्कुलका छ, डिएभी स्कुलका तीन, मुनलाइट माविका एक, सेन्ट जेभियर्स स्कुलका आठ, सेन्ट मेरीजका छ, लिटिल एन्जल्सका पाँच, क्यारिबियन स्कुलका एक, आदर्श विद्या मन्दिरका दुई, श्रीकुल विद्यालयका एक, आदर्श विद्या सदनका एक, पिस गार्डेन स्कुलका एक र युनाइटेड युनिभर्सल स्कुलका एक विद्यार्थी पुरस्कृत भएका छन् ।

    सामुदायिक विद्यालयतर्फ आदर्श सौल युवन माविका तीन, त्रिपद्म विद्याश्रमका दुई, प्रभाव माविका एक र महेन्द्र भृकुटी माविका एक गरी सात विद्यार्थीलाई सम्मान गरिएको महानगरपालिकाले जनाएको छ । निजी विद्यालयतर्फ ४ जिपिए र सामुदायिक विद्यालयतर्फ ३.९५ भन्दा बढी जिपिए ल्याउने विद्यार्थीलाई पुरस्कारका लागि योग्य मानिएको थियो ।

    महानगरपालिकाले उत्कृष्ट विद्यार्थीलाई जनही दुई लाख रुपैयाँका दरले नगद पुरस्कार प्रदान गरेको हो । यस्तै, सामुदायिक विद्यालयतर्फ ३.९५ जिपिए हासिल गर्ने विद्यालयलाई समेत चार लाख रुपैयाँका दरले नगद पुरस्कार प्रदान गरिएको छ ।

    शैक्षिक उपलब्धिका आधारमा विद्यार्थी तथा विद्यालयलाई पुरस्कृत गर्ने कार्यक्रमले सामुदायिक र निजी विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा बढाउने, शिक्षाको गुणस्तर सुधारमा योगदान पुर्‍याउने र विद्यार्थीलाई थप मेहनत गर्न प्रेरित गर्ने महानगरपालिकाको विश्वास छ ।

    महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले कार्यक्रम शिक्षा सुधारकै उद्देश्यले सञ्चालन गरिएको बताए । उनले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रोत्साहनस्वरूप हरेक वर्ष सम्मान तथा पुरस्कार दिइने जानकारी दिए ।

    ‘विद्यार्थीले राम्रोसँग पढेर उत्कृष्ट नतिजा ल्याएका कारण उनीहरूलाई प्रेरणा दिने उद्देश्यले पुरस्कार दिएका हौँ,’ मेयर महर्जनले भने, ‘महानगरभित्रका विद्यालयले एसइईमा राम्रो नतिजा ल्याएमा हरेक वर्ष यसरी नै पुरस्कृत गर्ने व्यवस्था गरेका छौँ । यो व्यवस्था रातो किताबमै राखिसकेका छौँ ।’

    महानगरपालिकाले विद्यार्थीको शैक्षिक उपलब्धिलाई प्रोत्साहन गर्दै पुरस्कार कार्यक्रमलाई आगामी वर्षहरूमा समेत निरन्तरता दिने जनाएको छ ।

    images
    मंगलवार, श्रावण २६ २०८३१२:०८:१०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार