मंगलवार, श्रावण २६ २०८३
काठमाडौं । शारीरिक अपाङ्गता भएका व्यक्तिहरूको शिक्षामा पहुँच, अवसर र समावेशिता सुनिश्चित गर्ने विषयमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको उपस्थितिमा सरोकारवालाबीच छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ ।
छलफलमा सांसदहरू यशोदा बराल, गंगा छन्त्याल र सरिता महतोसहित शारीरिक अपाङ्गता भएका व्यक्ति, शिक्षक, अपाङ्गता अधिकारकर्मी तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।
कार्यक्रममा व्यवस्थापिका र कार्यपालिका दुवै तहका प्रतिनिधि, शिक्षाकर्मी, अधिकारकर्मी तथा अपाङ्गताको प्रत्यक्ष अनुभव भएका व्यक्तिहरूले शिक्षाको क्षेत्रमा शारीरिक अपाङ्गता भएका व्यक्तिले भोगिरहेका चुनौती र अवरोधबारे आफ्ना अनुभव तथा धारणा प्रस्तुत गरेका थिए ।
छलफलका क्रममा विद्यालय तथा शैक्षिक संस्थामा पहुँच, समान अवसर, भौतिक संरचना, शिक्षण–सिकाइ वातावरण र आवश्यक सहयोगको उपलब्धताजस्ता विषयमा सरोकारवालाले ध्यानाकर्षण गराएका थिए ।
सरोकारवालाबाट प्राप्त अनुभव, सुझाव र समस्याका आधारमा विद्यमान चुनौती पहिचान गरी शारीरिक अपाङ्गता भएका व्यक्तिका लागि समावेशी, पहुँचयोग्य, समान र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न आवश्यक नीतिगत तथा व्यावहारिक उपायबारे छलफल गरिएको थियो ।
शिक्षामा अपाङ्गता भएका व्यक्तिको समान पहुँच सुनिश्चित गर्न नीति निर्माणदेखि कार्यान्वयन तहसम्म सरोकारवालाको सहभागिता र समन्वयलाई प्रभावकारी बनाउने आवश्यकता छलफलमा औँल्याइएको थियो ।