बुधवार, श्रावण २७ २०८३
काठमाडौं । काठमाडौं महानगरपालिका–१५ बिजेश्वरीस्थित द सनसाइन स्कुल तथा कलेजले सामाजिक उत्तरदायित्वअन्तर्गत ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा बालबालिकालाई लक्षित गर्दै उदाहरणीय पहल गरेको छ। विद्यालयले काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकासँगको सहकार्यमा काठमाडौंमा बसोबास गर्दै आएका तेमालवासीका लागि सामाजिक सुरक्षा भत्ता नवीकरणसम्बन्धी घुम्ती सेवा सञ्चालन गरेको हो।
साउन २६ गते मंगलबार आयोजित कार्यक्रममा ज्येष्ठ नागरिक भत्ता, अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता तथा बालबालिकासम्बन्धी भत्ता नवीकरणलगायतका सेवा प्रदान गरिएको थियो। काठमाडौंको स्वयम्भू क्षेत्रलाई बसोबासको क्षेत्र बनाएका तेमालवासी अभिभावक तथा सर्वसाधारणले आफ्नै क्षेत्रमा सेवा लिन पाउँदा सहज भएको विद्यालयले जनाएको छ।

तेमाल गाउँपालिकाका अध्यक्ष, विभिन्न वडाका वडाध्यक्षलगायत जनप्रतिनिधिको उपस्थितिमा कार्यक्रम सञ्चालन गरिएको थियो। गाउँपालिकाका अध्यक्षले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि गाउँपालिकासम्म पुग्नुपर्ने बाध्यता कम गर्दै सेवाग्राहीलाई काठमाडौंमै सेवा उपलब्ध गराउन सहजीकरण गरेकोमा विद्यालयलाई धन्यवाद व्यक्त गर्नुभयो।
कार्यक्रममा ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिलाई लक्षित गरी स्वास्थ्य सेवा केन्द्रसमेत सञ्चालन गरिएको थियो। सामाजिक सुरक्षा भत्ता नवीकरण तथा स्वास्थ्य सेवाबाट तेमालवासीसहित अन्य क्षेत्रका करिब ३०० जना सेवाग्राही लाभान्वित भएको विद्यालयले जनाएको छ।

कार्यक्रमको समापनमा विद्यालयले सहयोग गर्ने व्यक्ति तथा संस्थालाई मायाको चिनो प्रदान गरेको थियो। त्यसैगरी तेमाल गाउँपालिकाका अध्यक्ष तथा वडाध्यक्षहरूले द सनसाइन स्कुल तथा कलेजका प्रिन्सिपल र भाइस प्रिन्सिपललाई तेमाल गाउँपालिकाको मायाको चिनो तथा बुद्धचित्तको माला लगाएर सम्मान गरेका थिए।
विद्यालयले शिक्षण–सिकाइसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै समुदायका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा बालबालिकालाई लक्षित सेवामा सहकार्य गर्दै आएको जनाएको छ। विद्यालयको पहलले स्थानीय तह र शैक्षिक संस्थाबीचको सहकार्यबाट समुदायमै सार्वजनिक सेवा पुर्याउन सकिने उदाहरण प्रस्तुत गरेको छ।
