बिहिवार, श्रावण २८ २०८३
काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक तथा पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरिएको घटनाप्रति अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले गम्भीर आपत्ति जनाएको छ ।
अनेरास्ववियुले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने तथा सञ्चारगृहमा छापा हान्ने कार्य संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रताको प्रतिकूल रहेको जनाएको हो ।
अनेरास्ववियुका अध्यक्ष दिपक धामीद्वारा जारी विज्ञप्तिमा पत्रकार पक्राउ र सञ्चारगृहमा छापा मार्ने कार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यतामाथि गम्भीर प्रहार गरेको उल्लेख छ ।
जनता दैनिक रूपमा गम्भीर समस्या र चुनौतीसँग जुधिरहेको अवस्थामा सरकारका गतिविधि र कमजोरीमाथि उठेका प्रश्नलाई दबाउन तथा आफ्ना गलत कार्य ढाकछोप गर्न राज्यशक्तिको दुरुपयोग गर्नु लोकतान्त्रिक शासन व्यवस्थाको मर्मविपरीत भएको अनेरास्ववियुको भनाइ छ ।
अनेरास्ववियुले पत्रकार श्रेष्ठलाई तत्काल रिहा गर्न र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण सम्मान गर्न सरकारसँग जोडदार माग गरेको छ । अनेरास्ववियुले उक्त घटनाको घोर भर्त्सना गर्दै प्रेस स्वतन्त्रताको संरक्षणका लागि आफूहरू गम्भीर रहेको समेत जनाएको छ ।