बिहिवार, श्रावण २८ २०८३
सङ्खुवासभा । सङ्खुवासभामा शिक्षकको जिल्लान्तर सरुवा रोकिएको छ। शिक्षा विकास तथा समन्वय एकाइ सङ्खुवासभाले जिल्लाका सामुदायिक विद्यालयमा रिक्त रहेका तथा २०८३ साल चैत मसान्तसम्म अवकाशपछि रिक्त हुने शिक्षक दरबन्दीसमेत स्थायी पदपूर्तिका लागि शिक्षक सेवा आयोगमा माग गरिसकिएको भन्दै जिल्लान्तर सरुवा नगर्न निर्देशन दिएको हो।
एकाइ प्रमुख गोपालमान भण्डारीले २०८३ साउन २८ गते जिल्लाका सबै गाउँ तथा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखालाई पत्राचार गर्दै रिक्त पदमा शिक्षक सरुवाको अनुमति दिँदा जिल्लाभित्र कार्यरत शिक्षकलाई मात्र सरुवा गर्ने गरी अनुमति दिन अनुरोध गरेका छन्।
एकाइका अनुसार सङ्खुवासभाअन्तर्गत माध्यमिक र निम्नमाध्यमिक तहमा हालसम्म रिक्त रहेका तथा २०८३ चैत मसान्तसम्म अवकाशपछि रिक्त हुने दरबन्दीसमेत गणना गरी स्थायी पदपूर्तिका लागि शिक्षक सेवा आयोग, सानोठिमी भक्तपुरमा माग पठाइसकिएको छ। त्यसैले उक्त दरबन्दीमा जिल्लान्तर सरुवा गर्न नसकिने जनाउँदै स्थानीय तहका शिक्षा शाखालाई विद्यालयमा रिक्त स्थानमा शिक्षक सरुवाको अनुमति दिँदा जिल्लाभित्रकै शिक्षकलाई प्राथमिकता दिन भनिएको हो।
एकाइले जिल्लाका माध्यमिक तथा निम्नमाध्यमिक तह सञ्चालित सबै सामुदायिक विद्यालयलाई समेत उक्त निर्णयबारे बोधार्थ पठाएको छ।
