शुक्रवार, श्रावण २९ २०८३
काठमाडौँ, २९ साउन । सरकारले सातामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरे पनि काठमाडौँको तारकेश्वर नगरपालिकामा आइतबार विद्यालय सञ्चालन भइरहेको भन्दै नेपाल शिक्षक महासङ्घ, काठमाडौँ जिल्ला समितिले आपत्ति जनाएको छ ।
नगरपालिका कार्यालय, वडा कार्यालयलगायत प्रशासनिक कार्यालय आइतबार बन्द रहने तर शैक्षिक संस्था मात्र सञ्चालन गरी शिक्षक, कर्मचारी र विद्यार्थीलाई विद्यालयमा उपस्थित हुन बाध्य पारिएको भन्दै महासङ्घले यसलाई विभेदपूर्ण व्यवहार भनेको छ ।
महासङ्घले यसअघि तारकेश्वर नगरपालिकाका प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउनुका साथै सरोकारवाला निकायलाई समेत बोधार्थ दिँदा पनि सार्वजनिक बिदा कार्यान्वयन नभएको जनाएको छ । सरकारले सार्वजनिक बिदा दिने निर्णय सबै सम्बन्धित निकायमा समान रूपमा लागू हुने व्यवस्था कायम गर्न गरेको उल्लेख गर्दै महासङ्घले प्रशासनिक कार्यालय बन्द गरेर विद्यालय मात्र सञ्चालन गर्दा शिक्षक तथा विद्यार्थी सार्वजनिक बिदाको अधिकारबाट वञ्चित हुने बताएको छ ।
महासङ्घले २०८३ साउन ३१ गते आइतबारदेखि तारकेश्वर नगरपालिका क्षेत्रका सम्पूर्ण प्रधानाध्यापक, शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकलाई विद्यालय नजान अपिल गरेको छ । साथै, आइतबार नियमित पठनपाठन वा अन्य शैक्षिक गतिविधि सञ्चालन नगर्न र सरकारको निर्णयविपरीत शिक्षक, विद्यार्थी, कर्मचारी तथा अभिभावकलाई विद्यालयमा उपस्थित हुन बाध्य नपार्न आग्रह गरेको छ ।
महासङ्घले विद्यालयमा तोकिएको वार्षिक कार्यघण्टा र पाठ्यक्रम पूरा हुने गरी बाँकी पाँच कार्यदिनमा आवश्यक समय व्यवस्थापन गर्नुपर्ने जनाएको छ । त्यसका लागि स्थानीय तह, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी र अभिभावकबीच आवश्यक समन्वय तथा सहकार्य गर्नसमेत आग्रह गरेको छ ।
विज्ञप्तिमा महासङ्घका काठमाडौँ जिल्ला अध्यक्ष गणेशप्रसाद गुरागाईँ, सहअध्यक्ष कृष्णराज कट्टेल र सचिव नारायणप्रसाद गौतमले हस्ताक्षर गरेका छन् ।
