Aug 14 2026 | २०८३, श्रावण २९ गते

विश्वव्यापी तापक्रम वृद्धि : चुनौती र समाधानबारे विद्यार्थीद्वारा पावरपोइन्ट प्रस्तुति

विश्वव्यापी तापक्रम वृद्धि : चुनौती र समाधानबारे विद्यार्थीद्वारा पावरपोइन्ट प्रस्तुति

  • 69
    SHARES

  • विश्वव्यापी तापक्रम वृद्धि : चुनौती र समाधानबारे विद्यार्थीद्वारा पावरपोइन्ट प्रस्तुति

    काठमाडौँ, २९ साउन । विश्वव्यापी तापक्रम वृद्धिका कारण वातावरण, मानव स्वास्थ्य, कृषि, जलस्रोत तथा जैविक विविधतामा परेको प्रभाव र यसको न्यूनीकरणका उपायबारे विद्यार्थीहरूले पावरपोइन्ट प्रस्तुतिमार्फत आफ्ना धारणा प्रस्तुत गरेका छन्। उत्तर–पश्चिमी निजी तथा आवासीय विद्यालय सङ्गठन (नोप्सो), काठमाडौँको आयोजनामा भएको पावरपोइन्ट प्रस्तुति प्रतियोगिता–२०८३ मा विद्यार्थीहरूले ‘विश्वव्यापी तापक्रम वृद्धि : विश्वको ज्वलन्त समस्या’ विषयमा विभिन्न प्रस्तुति दिएका हुन्।

    IMG-20260814-WA0108.jpg

    कार्यक्रम नोप्सोको समन्वयमा बाटिका स्कुलले व्यवस्थापन गरेको थियो। कार्यक्रमको सभापतित्व नोप्सोका अध्यक्ष राजेश्वर श्रेष्ठले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा डा. हरिहर घिमिरे तथा अतिथिका रूपमा डा. श्यामचन्द्र अधिकारी, प्याब्सन नागार्जुन अध्यक्ष वासुदेव घिमिरे नोप्सोका पदाधिकारी तथा विभिन्न विद्यालयका प्रिन्सिपल तथा शिक्षकहरुको उपस्थिति रहेको थियो।

    प्रतियोगितामा विद्यार्थीहरूले विश्वव्यापी तापक्रम वृद्धि हुनुका कारण, यसबाट उत्पन्न वातावरणीय तथा सामाजिक–आर्थिक चुनौती र न्यूनीकरणका सम्भावित उपायलाई विस्तृत रूपमा प्रस्तुतिमा समेटेका थिए।

    IMG-20260814-WA0027.jpg

    विद्यार्थीहरूले जीवाश्म इन्धनको अत्यधिक प्रयोग, वन विनाश, तीव्र शहरीकरण, औद्योगिक गतिविधि, यातायातको बढ्दो चाप तथा फोहोर व्यवस्थापनको कमजोरीबाट हुने हरितगृह ग्यास उत्सर्जनलाई तापक्रम वृद्धिका प्रमुख कारणका रूपमा औँल्याएका थिए। उनिहरुले व्यक्तिगत जीवनशैली, ऊर्जा खपतको ढाँचा र उपभोक्तावादी संस्कृतिले पनि समस्या बढाइरहेको धारणा राखेका थिए।

    विद्यार्थीहरूको धारणा अनुसार तापक्रम वृद्धिका असरहरू केवल वातावरणीय मात्र नभई सामाजिक र आर्थिक रूपमा पनि गहिरो हुँदै गएका छन्। उनीहरूले अत्यधिक गर्मीका कारण स्वास्थ्य समस्या, पानीको अभाव, कृषि उत्पादनमा गिरावट तथा खाद्य सुरक्षामा चुनौती बढ्दै गएको उल्लेख गरे। साथै, खडेरी, अनियमित वर्षा, बाढी–पहिरो, डढेलो जस्ता प्राकृतिक विपद् बढ्दै गएको र यसले ग्रामीण तथा शहरी दुवै क्षेत्रमा जनजीवन प्रभावित बनाएको उनीहरूको निष्कर्ष थियो।

    IMG-20260814-WA0203.jpg

    धेरै विद्यार्थीहरुले हिमाली क्षेत्रमा हिमनदी तीव्र गतिमा पग्लिँदा भविष्यमा जलस्रोत संकट गहिरिन सक्ने र नदी प्रणालीमा असन्तुलन आउन सक्ने विषयमा पनि विशेष चिन्ता व्यक्त गरेका थिए। केही विद्यार्थीहरूले जैविक विविधताको क्षति र वन्यजन्तुको बासस्थान नष्ट हुँदै जानु दीर्घकालीन रूपमा पारिस्थितिक प्रणालीका लागि ठूलो खतरा भएको बताएका थिए। उनीहरूको भनाइमा, यदि अहिले नै प्रभावकारी कदम नचालिए भविष्यमा वातावरणीय असन्तुलन अझ गम्भीर बन्न सक्छ।

    IMG-20260814-WA0199.jpg

    समाधानका सन्दर्भमा विद्यार्थीहरूले नवीकरणीय ऊर्जाको प्रयोग बढाउने, वृक्षारोपणलाई अभियानका रूपमा अघि बढाउने, प्लास्टिकको प्रयोग घटाउने, सार्वजनिक यातायातको प्रयोगलाई प्रोत्साहन गर्ने तथा विद्यालयस्तरमै वातावरण शिक्षा अनिवार्य गर्नुपर्ने सुझाव दिएका थिए। केही समूहले स्थानीय स्तरमा हरित क्लब गठन गरी सचेतना फैलाउने र समुदायलाई समेत सहभागी गराउने धारणा प्रस्तुत गरेका थिए।

    IMG-20260814-WA0171.jpg

    उक्त प्रतियोगितामा टडलर्स एकेडेमी प्रथम , द एक्सेल पब्लिक स्कुल दोस्रो र सिग्मा स्कुल तेस्रो भएका छन्। त्यसैगरी पिपुल्स फ्रेन्डसिप एकेडेमी र सुनौलो क्षितिज स्कुल संयुक्त रूपमा चौथो, विभूति स्कुल पाँचौँ तथा युएसए स्कुल छैटौँ भएका छन्। उक्त प्रतियोगितामा उत्कृष्ट छ विद्यालयहरुलाई ट्रगी, मेडल र प्रमाणपत्र तथा अन्य सहभागी विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो।

    IMG-20260814-WA0207~3.jpg

    उक्त प्रतियोगिताका जज तथा प्रमुख अतिथि डा. हरिहर घिमिरेले विश्वव्यापी तापक्रम वृद्धि आजको सबैभन्दा गम्भीर विश्वव्यापी चुनौती भएको उल्लेख गर्दै यसको समाधानका लागि सामूहिक प्रयास अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले विद्यार्थीहरूमा वातावरणीय चेतना विकास हुनु सकारात्मक संकेत भएको बताउँदै विद्यालय तहदेखि नै व्यवहारिक रूपमा हरित अभ्यास अपनाउनुपर्नेमा जोड दिनुभयो। साथै, नवीकरणीय ऊर्जाको विस्तार, वन संरक्षण र दिगो विकासका अभ्यासलाई प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ थियो।

    त्यसैगरि कार्यक्रममा नोप्सोका संस्थापक तथा सल्लाहकार युवराज वस्ताकोटीले स्वागत मन्तव्य राख्दै यस्ता कार्यक्रमले विद्यार्थीमा जलवायु परिवर्तनबारे चेतना अभिवृद्धि गर्नुका साथै अनुसन्धानात्मक सोच, प्रस्तुति क्षमता र वातावरणप्रति जिम्मेवारीबोध विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

    IMG-20260814-WA0013.jpg

    कार्यक्रमका सभापति तथा नोप्सोका अध्यक्ष राजेश्वर श्रेष्ठले नोप्सोले विद्यार्थीको प्रतिभा, सिर्जनशीलता र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलापलाई निरन्तर प्राथमिकता दिँदै आएको बताउनुभयो। उहाँले विद्यालयबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्दै विद्यार्थीलाई समसामयिक विषयमा ज्ञान, प्रस्तुति क्षमता र व्यवहारिक सीप विकास गर्ने अवसर प्रदान गर्नु नोप्सोका कार्यक्रमहरूको मुख्य उद्देश्य रहेको धारणा राख्नुभयो।

    यस्तो कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन, नेतृत्व क्षमता विकास, सिर्जनशीलता अभिवृद्धि तथा नयाँ विषयमा खोज, अध्ययन र अनुसन्धान गर्ने बानीको विकासमा महत्वपूर्ण योगदान पुग्ने उहाँको भनाइ थियो।

    IMG-20260814-WA0078.jpg

    images
    शुक्रवार, श्रावण २९ २०८३०८:४३:०२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार