सोमवार, भाद्र १ २०८३
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयको वास्तविक अवस्था बुझ्न काठमाडौंका विभिन्न विद्यालयको स्थलगत अवलोकन सुरु गरेका छन्।
सामुदायिक विद्यालयको शैक्षिक अवस्था, पठनपाठनको प्रभावकारिता, विद्यालय व्यवस्थापन तथा विद्यार्थीका समस्या र आवश्यकताबारे प्रत्यक्ष जानकारी लिने उद्देश्यले मन्त्रालयले विद्यालय अवलोकन अभियान अघि बढाएको हो।
अभियानअन्तर्गत मन्त्री पोखरेलले काठमाडौंका चार सामुदायिक विद्यालयमा पुगेर विद्यालय प्रशासन, प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीसँग अन्तरक्रिया गरेका छन्। उनले विद्यालयको भौतिक तथा शैक्षिक अवस्था, पठनपाठनको स्थिति, विद्यार्थीका समस्या र विद्यालय सुधारका लागि आवश्यक पहलका विषयमा जानकारी लिएका थिए।

अवलोकनका क्रममा मन्त्री पोखरेलले विद्यालयमा देखिएका समस्या र सरोकारवालाबाट प्राप्त सुझावलाई नीतिगत रूपमा सम्बोधन गर्ने प्रतिबद्धता जनाए। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारसँगै विद्यार्थीमैत्री वातावरण निर्माणलाई मन्त्रालयले प्राथमिकतामा राखेको उनले बताए।
मन्त्री पोखरेलले अवलोकन गरेका विद्यालयमा बाल विकास आधारभूत विद्यालय, पञ्चकन्या माध्यमिक विद्यालय, आत्म विकास आधारभूत विद्यालय र श्री बुढानीलकण्ठ उच्च माध्यमिक विद्यालय रहेका छन्।
मन्त्रालयका अनुसार विद्यालयको वास्तविक अवस्था पहिचान गरी आवश्यक सुधारका कार्यक्रम सञ्चालन गर्न तथा विद्यालय, स्थानीय तह र मन्त्रालयबीच प्रभावकारी समन्वय कायम गर्न अवलोकन अभियानलाई देशभर विस्तार गरिनेछ। विद्यालयमै पुगेर समस्या र सम्भावना पहिचान गर्ने कार्यले नीति निर्माणलाई थप व्यवहारिक बनाउने मन्त्रालयको अपेक्षा छ।