मंगलवार, भाद्र २ २०८३
काठमाडौँ । तारकेश्वर नगरपालिकाका नगर प्रमुख कृष्णहरी महर्जनले सामुदायिक विद्यालयका शिक्षकहरूलाई आइतबार पनि विद्यालय सञ्चालनमा सहयोग गर्न आग्रह गरेका छन्।
नगर प्रमुख महर्जनले सामाजिक सञ्जाल फेसबूकमार्फत शिक्षकहरूलाई सम्बोधन गर्दै आइतबार विद्यालय खोल्नु आफ्नो व्यक्तिगत निर्णय वा राजनीतिक स्वार्थ नभई स्थानीय सरकारको संवैधानिक जिम्मेवारी तथा बालबालिकाको सिकाइ र शिक्षाको गुणस्तरप्रतिको चिन्ताबाट गरिएको आग्रह भएको बताएका छन्।
उनले शिक्षकहरूको मर्म, बाध्यता र अधिकार आफूले बुझेको उल्लेख गर्दै शिक्षकको अधिकारमाथि गाली, अनादर वा हस्तक्षेप गर्ने आफ्नो उद्देश्य नरहेको स्पष्ट पारेका छन्।
“विद्यालय आइतबार खुलाएर तपाईंहरूलाई दुःखी बनाउनु छैन मलाई, न त बन्द गराएर खुशी नै हामी हुन सक्छौँ,” उनले भनेका छन्, “दुई हात जोडेर मेरो आग्रह केवल हाम्रा बालबालिकाको भविष्यका लागि मात्र हो।” शिक्षकलाई केवल पेशाकर्मीका रूपमा नभई भविष्य निर्माणका महत्वपूर्ण सर्जकका रूपमा चित्रण गर्दै महर्जनले शिक्षकहरूको एक दिनको त्यागले विद्यार्थीको जीवनमा सकारात्मक प्रभाव पार्न सक्ने बताएका छन्।
उनले शिक्षकहरूलाई आफ्नो अधिकारका साथै बालबालिकाको भविष्यलाई समेत प्राथमिकतामा राख्न आग्रह गरेका छन्। “अन्य दिनसँगै आइतबारलाई पनि बन्दको दिन होइन, भविष्य निर्माणको दिन बनाऔँ,” उनको आग्रह छ।
शिक्षामा सुधार आए समाज र नगर हुँदै देश नै परिवर्तन हुने उल्लेख गर्दै महर्जनले त्यस परिवर्तनका सबैभन्दा महत्वपूर्ण सर्जक शिक्षकहरू नै रहेको बताएका छन्। “शिक्षा बदलियो भने समाज बदलिन्छ, समाज बदलियो भने नगर बदलिन्छ, र नगर–नगर बदलिँदै देश बन्छ,” उनले भनेका छन्।
बालबालिका भविष्यका देश निर्माता भएको उल्लेख गर्दै उनले शिक्षकहरूलाई आफ्नो तर्फबाट पुनः दुई हात जोडेर आइतबार विद्यालय सञ्चालनमा सहयोग गरिदिन आग्रह गरेका छन्।
उनले आफ्नो अपिलको अन्त्यमा ‘जय शिक्षक ! जय शिक्षा !’ भन्दै शिक्षकप्रति सम्मान व्यक्त गरेका छन्।