Oct 02 2026 | २०८३, आश्विन १६ गते

बाढीपछि उद्धारमा केन्द्रित हुन शिक्षामन्त्रीको आग्रह, विद्यालय पुनर्निर्माणको जिम्मा सरकारले लिने

बाढीपछि उद्धारमा केन्द्रित हुन शिक्षामन्त्रीको आग्रह, विद्यालय पुनर्निर्माणको जिम्मा सरकारले लिने

  • 203
    SHARES

  • बाढीपछि उद्धारमा केन्द्रित हुन शिक्षामन्त्रीको आग्रह, विद्यालय पुनर्निर्माणको जिम्मा सरकारले लिने

    काठमाडौं । रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा आएको बाढीबाट भएको क्षतिप्रति शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गहिरो चिन्ता व्यक्त गरेका छन्। क्षतिको पूर्ण विवरण आइनसके पनि प्रभावित क्षेत्रको अवस्था गम्भीर रहेको उनले बताएका छन्।

    मन्त्री पोखरेलले प्रभावित पालिकाका मेयर तथा अध्यक्षहरूसँग प्रत्यक्ष फोन सम्पर्क गरी बाढीपछिको अवस्थाबारे जानकारी लिएको जनाएका छन्। उनले अहिलेको पहिलो प्राथमिकता उद्धार र जीवनरक्षा भएकाले प्रभावित स्थानीय तहलाई अन्य विषयको चिन्ता नगरी उद्धारमा सम्पूर्ण ध्यान केन्द्रित गर्न आग्रह गरेका छन्।

    उनले आवश्यक हेलिकप्टर, राहत तथा अन्य सहयोगका लागि सरकार प्रभावित स्थानीय तहको साथमा रहेको स्पष्ट पारेका छन्।

    बाढीबाट विद्यालय तथा शैक्षिक क्षेत्रमा पुगेको क्षतिका विषयमा समेत सरकारले आवश्यक जिम्मेवारी लिने मन्त्री पोखरेलले बताएका छन्। विद्यालय भवनमा भएको क्षति, विद्यार्थीका पुस्तक–कापी तथा आवश्यक शैक्षिक सामग्रीको अवस्थाबारे उद्धारपछि आवश्यक मूल्याङ्कन गरी व्यवस्थापन गरिने उनको भनाइ छ।

    “विद्यालय, विद्यार्थी र शिक्षाको चिन्ता अहिले लिनु पर्दैन,” मन्त्री पोखरेलले भनेका छन्, “क्षतिग्रस्त विद्यालयहरू पुनर्निर्माण गरेर बालबालिकालाई सकेसम्म छिटो सुरक्षित वातावरणमा पढ्ने अवस्था बनाउनेछौँ।”

    फोन सम्पर्क हुन नसकेका पालिकाका अध्यक्षहरूसँग पनि पुनः सम्पर्क गरी अवस्थाबारे जानकारी लिने उनले बताएका छन्। विपद्को यस कठिन घडीमा प्रभावित स्थानीय तह र नागरिक एक्लै नरहेको भन्दै मन्त्री पोखरेलले शिक्षा तथा खेलकुद मन्त्रालय र सरकार प्रभावित समुदायको साथमा रहेको बताएका छन्।

    images
    बिहिवार, भाद्र ११ २०८३०८:१०:५६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार